वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको सम्मानमा स्थापना गरिएको ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सोमबार आयोजित तेस्रो स्मृति सभाका अवसरमा सर्राफलाई नगद २१ हजार रुपैयाँसहित सम्मानपत्र हस्तान्तरण गरिएको आयोजक समितिले जनाएको छ।

सामाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति पर्साले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले नरेश सर्राफले जीवनभर अंगालेको सत्यनिष्ठ पत्रकारिता र सामाजिक उत्तरदायित्वप्रति उनको प्रतिबद्धता आजका पत्रकारका लागि प्रेरणा बनेको उल्लेख गरे। सर्राफले अनुसरण गरेको पेशागत मूल्य र नैतिकताले नयाँ पुस्तालाई सही मार्गदर्शन दिएको उनीहरूको धारणा थियो।
यस वर्ष आशु सर्राफलाई प्रदान गरिएको पुरस्कारले निष्पक्ष र जनमुखी पत्रकारितामा अझ ऊर्जा थप्ने अपेक्षा आयोजकले गरेको छ। समारोहमा पत्रकार, सरोकारवाला तथा स्व. सर्राफका परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले स्मृतिमा स्थापना भएको यो पुरस्कारले पत्रकारितामा सक्रियरूपले क्रियाशील रहनेहरूलाई निरन्तर प्रोत्साहन दिइरहेको प्रतिक्रिया व्यक्त गरे।


