जनकपुर| धनुषाको नगराइन नगरपालिका–२ की २८ वर्षीया रोशनी झा बिहीबार साँझ आफ्नै घरभित्र मृत फेला परेकी छन्। उनी संघीय प्रशासन सेवाका अधिकारी प्रशान्त कुमार मिश्रकी पत्नी हुन्।

माइती पक्षका अनुसार रोशनीले साँझ ५:३० बजे आमासँग अन्तिम पटक फोनमा कुरा गरेकी थिइन्। करिब एक घण्टापछि फोन पति प्रशान्त मिश्रले उठाउँदै रोशनी अस्वस्थ भएको जानकारी गराएको परिवार बताउँछ।
घर पुगेकी आमाले रोशनीलाई अचेत अवस्थामा फेला पारेकी थिइन्। उनको शरीरमा नङले कोचेको जस्तै दाग र घाँटीमा कुनै वस्तुले थिचेजस्तो चिन्ह देखिएको दाबी माइती पक्षले गरेको छ। घटनाबारे रोशनीको ससुराली पक्षले “भर्याङबाट खस्दा भएको दुर्घटना” बताउँदै आए पनि परिवारले यसलाई शंका गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेको छ।
माइती पक्षले पोस्टमार्टम नगरी छिटो दाहसंस्कार गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ। उनीहरूले घटनाको सत्यता पत्ता लगाउन निष्पक्ष छानबिन, सम्भावित दोषीमाथि कारबाही र न्यायिक प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन र प्रहरीसँग माग गर्ने तयारी गरेका छन्।
घटनापछि स्थानीय स्तरमा पनि पारदर्शी छानबिनको माग बलियो बनेको छ। सामाजिक अभियन्ता तथा स्थानीयवासीले मृत्युको वास्तविक कारण सार्वजनिक गर्न सम्बन्धित निकायले गम्भीर अनुसन्धान गर्नुपर्ने बताइरहेका छन्।
प्रहरीले घटनाबारे सूचना प्राप्त भइसकेको र बयान तथा अनुसन्धान प्रक्रिया सुरु गर्न तयारी भइरहेको जनाएको छ। पोस्टमार्टम र प्रारम्भिक प्रहरी प्रतिवेदनपछि मात्र मृत्युको वास्तविक कारण पुष्टि हुने प्रहरीको भनाइ छ।रोशनीको निधनले माइती पक्ष, स्थानीय समुदाय र शुभचिन्तकहरूमा गहिरो शोक छाएको छ।


