वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले पर्साका सबै चार निर्वाचन क्षेत्रबाट यसअघि नै सक्रिय रहेका पुरानै नेताहरूलाई पुनः सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेकदारीमा पनि अधिकांश अनुभवी नेताहरूलाई अग्राधिकार दिने निर्णय गरेको हो।

पर्सा क्षेत्र नं.–१ बाट कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य अनिल रुंगटाको एकल नाम सिफारिस गरिएको छ। रुंगटा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि प्रतिस्पर्धामा उत्रिएका थिए।

क्षेत्र नं.–२ मा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य अजय चौरसिया, पूर्व संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य तथा नेविसंघका पूर्व जिल्ला सभापति राकेश यादवको नाम सिफारिस गरिएको छ। सक्रिय राजनीतिक भूमिका निर्वाह गर्दै आएका चौरसिया तीन पटकका सांसद तथा पूर्व कानुनमन्त्री हुन्। अमात्य २०७० मा पर्सा–१ बाट संविधानसभा सदस्य बनेका थिए, जबकि यादव युवा नेतृत्वका रूपमा चिनिन्छन्।
पर्सा क्षेत्र नं.–३ बाट पूर्वमन्त्री तथा चार पटकका पूर्वसांसद सुरेन्द्र प्रसाद चौधरी, प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, नेविसंघका पूर्व केन्द्रीय सदस्य शम्भु चौहान, किसान नेता असर्फी साह र भगवती चौधरी गरी पाँच जनाको नाम सिफारिस गरिएको छ।
पर्सा क्षेत्र नं.–४ मा भने पूर्वमन्त्री तथा चार पटकका पूर्वसांसद रमेश रिजाललाई पुनः एकल रूपमा सिफारिस गरिएको छ। रिजाल २०४८ देखि २०७९ सम्म निरन्तर कांग्रेसका तर्फबाट प्रतियोगितामा रहने नेता हुन्।

जेन–जि आन्दोलनपछि नयाँ पुस्ताको नेतृत्व माग बढिरहेका समयमा कांग्रेसले पुरानै अनुहारहरूलाई प्राथमिकता दिएपछि युवामाझ असन्तोष देखिएको छ। उनीहरूले “कांग्रेसमा पुराना र खास नेताहरूको वर्चस्व झनै बलियो देखिन थालेको” टिप्पणी सार्वजनिक गरेका छन्।
यद्यपि, कांग्रेसका युवा नेताहरू भने आगामी निर्वाचनमा पनि यिनै अनुभवी नेताहरू नै टिकट पाउने र सफल भएर पार्टीलाई मजबुत बनाउने दाबी गर्दै आएका छन्।


