वीरगंज । वीरगंज महानगरपालिकालाई विभिन्न बैंकहरूले कम्प्युटर सामग्री सहयोगस्वरूप उपलब्ध गराएका छन्। आज आयोजित कार्यक्रममा नौ वटा बैंकहरूले महानगरलाई एक–एक थान गरी कुल ९ थान कम्प्युटर हस्तान्तरण गरेका हुन्।

जेन्जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको लुटपाट, तोडफोड र आगजनीका घटनाले महानगरको भवन तथा उपकरण नष्ट भएपछि नगर सेवाप्रवाह प्रभावित बनेको थियो। कार्यालयको नियमित काम पुनः सहज बनाउने उद्देश्यले बैंकहरूले सामूहिक रूपमा सहयोग गरेको बताइएको छ।

सहयोग गर्नेमा एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेड रहेका छन्। उक्त सहयोग महानगरका सद्भावना दूत अशोक वैद्यको पहलमा समन्वय गरिएको हो।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले विपत्को घडीमा सहयोग हातेमालो बढाइदिएकोमा बैंकहरू प्रति आभार व्यक्त गर्नुभयो। “महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो समयमा प्राप्त साथ–समर्थनले फेरि अघि बढ्ने हिम्मत दिन्छ,” प्रमुख सिंहले भन्नुभयो।
त्यसैगरी बैंकर एसोसिएशन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखा प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउन आवश्यक उपकरण उपलब्ध गराइएको जानकारी दिनुभयो।
यसअघि पनि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाललगायत विभिन्न संघ–संस्थाले आवश्यक सामग्री सहयोग गरिसकेको महानगरले जनाएको छ।


