काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमबार नयाँ इतिहास कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो।

महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले वृद्धि भई २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको छ। यससँगै एक साताअघि कायम भएको प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको अघिल्लो रेकर्ड तोड्दै सुनले नयाँ उचाइ बनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। चाँदीको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनयता चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ, जसले गहना बजारमा मूल्यको दबाब बढाएको छ।
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव हो। अन्तर्राष्ट्रिय बजारमा सोमबार नेपाली समयअनुसार बिहान १०ः५० बजे सुनको मूल्य प्रतिऔंस ४ हजार ३ सय ९७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६९ दशमलव ३७ डलर पुगेको छ। विश्वव्यापी आर्थिक अनिश्चितता र लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा बहुमूल्य धातुतर्फ आकर्षित हुँदा सुनचाँदीको मूल्यले विश्व बजारमै नयाँ रेकर्ड कायम गरेको विश्लेषण गरिएको छ।


