Lucky-Khabar_

सासू–ससुरालाई खानामा विष खुवाएको अभियोग : भतिजी बुहारी थुनामा

विराटनगर । वृद्ध काकी सासू र काका ससुरालाई खानामा विष मिसाएर खुवाएको अभियोगमा भतिजी बुहारीलाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको छ।

content ad p2

बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ३२ वर्षीया सुनिता कार्कीलाई न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले बिहीबार थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। आदेशपछि उनलाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

प्रहरी अनुसन्धानअनुसार सुनिताले मंसिर २० गते ७७ वर्षीया काकी सासू इन्द्रमाया राई र ७० वर्षीय काका ससुरा भक्तबहादुर राईलाई खानामा विष मिसाएर खुवाएकी थिइन्। विष सेवनका कारण इन्द्रमायाको उपचारका क्रममा मृत्यु भएको थियो भने भक्तबहादुर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रहरीले सुनिताविरुद्ध कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरी मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेपछि अदालतमा थुनछेक बहस भएको हो। बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई थुनामा राख्ने आदेश भएको अदालतले जनाएको छ।

अनुसन्धानका क्रममा सुनिताले “घरायसी झगडा र करकापको रिसमा विष खुवाएको” बयान दिएको प्रहरीले जनाएको छ। घटनाको दिन भक्तबहादुर घर नजिकैको खोल्सामा बेहोस अवस्थामा फेला परेका थिए। उनलाई घर ल्याउँदा उनकी श्रीमती इन्द्रमाया पनि बेहोस अवस्थामा थिइन्। घर वरपर रहेका तीनवटा कुखुरा समेत मरेको अवस्थामा भेटिएका थिए।

वृद्ध दम्पतीलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। आईसीयूमा उपचाररत इन्द्रमायाको सोही क्रममा मृत्यु भएको हो। घटनास्थलबाट प्रहरीले अँगेनोमा जलाइएको अवस्थामा विषादीको बट्टा समेत बरामद गरेको थियो।

भक्तबहादुर र इन्द्रमायाका आफ्ना सन्तान नभएकाले उनीहरू भतिजो प्रशान राई र उनकी पत्नी सुनितासँगै बस्दै आएका थिए। प्रशान घर बाहिर रहेका बेला सुनिताले वृद्ध दम्पतीलाई विष मिसाएको खाना खुवाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर