Lucky-Khabar_

कांग्रेसका पूर्वमन्त्री खड्कासहित एमाले गण्डकीका नेता रास्वपा प्रवेश

पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र नेकपा एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

content ad p2

संघीय महिला, बालबालिका तथा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका खड्कालाई कांग्रेसले अन्तरघातको आरोपमा निष्कासन गरेपछि उनी रास्वपामा प्रवेश गरेका हुन्। उनीहरूलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटालगायतले पार्टीमा स्वागत गरे।

क्षेत्री आन्दोलनको पृष्ठभूमिमा गठन भएको अखण्ड नेपाल पार्टीबाट २०७४ मा समानुपातिक सांसद बनेर संघीय संसद प्रवेश गरेका खड्का सोही चुनावअघि कांग्रेसमा विलय भएका थिए। कांग्रेसबाट गण्डकी प्रदेशको समानुपातिक सांसद हुँदै मन्त्री बनेका उनीमाथि आफ्ना उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप लगाउँदै पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

पछि कांग्रेसले उनको कारबाही फुकुवा गरे पनि आफूले राजनीतिक निर्णय गरिसकेको भन्दै खड्काले कांग्रेसमा नफर्किने बताएका छन्।रास्वपामा प्रवेश गरेकी कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाकी भाइबुहारी हुन्। विन्दुकुमारका भाइ तथा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष ध्रुव थापाकी पत्नी समेत रहेकी उनले कांग्रेसको पारिवारिक विरासत त्यागेर रास्वपामा प्रवेश गरेकी हुन्। मन्त्री परिवारकै सदस्य रास्वपामा प्रवेश गरेपछि कास्कीमा यस विषयलाई चासोका साथ हेरिएको छ।

जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते मन्त्री थापाको निवास, व्यापारिक प्रतिष्ठान, बगैंचा रिसोर्टसहित ध्रुव थापाको घर तथा व्यावसायिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको थियो। मन्त्री परिवार भएकै कारण आफूहरूको घर र व्यवसायमा आगजनी भएको दाबी गरिएको थियो। सो घटनामा उनीहरूको घरमा काम गर्ने एक महिलाको जलेर मृत्यु भएको थियो।

रास्वपामा प्रवेश गरेका पुष्प अधिकारी रुपाकोट रिसोर्टका सञ्चालक हुन्। उनी अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदका आकांक्षी थिए। अधिकारी एमाले गण्डकी प्रदेश कमिटीका पूर्व सदस्यसमेत हुन् र एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ निकट नेता मानिन्थे।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर