बिरगंज । बिरगंज महानगरपालिका–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक वडा भेला शनिबार भव्य रूपमा सम्पन्न भएको छ । मधेश प्रदेशमा रास्वपाप्रति बढ्दो आकर्षण र प्रवेशको लहरबीच सम्पन्न यस भेलालाई ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।

भेला रास्वपा बिरगंज नगर सभापति महमुदीन अनसारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रास्वपा केन्द्रीय सदस्य डा. नन्दन यादव तथा विशेष अतिथिका रूपमा जिल्ला अध्यक्ष हरि पन्त,जिल्ला रैट प्रमुख ओझा सहभागी थिए । त्यसैगरी पर्सा क्षेत्रीय सभापति राम आर्य र फैयाज मियाँ, पोखरिया नगर सभापति प्रदीप पटेल, जिल्ला सचिव सुदिस प्रजापति, जिल्ला कोषाध्यक्ष दिलिप कुर्मी लगायतको उपस्थिति रहेको थियो । साथै, स्थानीय भद्रभलाद्मी, सुरक्षाकर्मी, पत्रकार तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।
वडा भेलाबाट वडास्तरीय ११ सदस्यीय पदाधिकारी समिति चयन तथा घोषणा गरिएको छ । जसअनुसार वडा सभापतिमा ध्रुव साह कानु, उपसभापतिमा मनोज कुमार, सचिवमा धिरज साह कलवार चयन भएका छन् । सदस्यहरूमा धुरेन्द्र साह तेली, लालन पासवान, लालचन कुमार कानु, धर्मेन्द्र दास, राधे साह तेली, उमरावती देवी, गिरिजा देवी ठाकुर र असलम मियाँ आलम रहेका छन् । यस्तै, वरिष्ठ सल्लाहकारमा बैजु साह तेली तथा सल्लाहकारमा भिवाइल मियाँ र श्याम साह तेली चयन भएका छन् ।
कार्यक्रममा वक्ताहरूले पार्टीको नीतिगत दिशा, पारदर्शिता, सुशासन तथा भ्रष्टाचारविरुद्धको अभियानबारे आ–आफ्ना धारणा राखेका थिए । मन्तव्यका क्रममा प्रमुख अतिथि डा.नन्दन यादव, जिल्ला सभापति हरि पन्त, क्षेत्रीय सभापति रामआर्य तथा नगर सभापति महमुदीन अनसारीले पार्टीको भावी कार्यदिशाबारे विचार व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण जिल्ला सह–सचिव कृष्ण पासवानले गरेका थिए । वक्ताहरूले रास्वपाले आफ्ना विचार र कार्यशैलीमार्फत देशका कुनाकुनामा नेपाली जनतालाई शान्ति र सुशासनको अनुभूति गराउने जनविश्वास स्थापित भइसकेको बताएका छन् ।भेलाले मधेश प्रदेशभर पार्टी संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष समेत निकालेको छ ।



