रौतहट । रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा (एमाले) लाई ठुलो राजनीतिक झट्का लागेको छ। एमालेका पूर्व सांसद बबन सिंहले सयौँ समर्थक तथा कार्यकर्तासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

शनिबार आयोजित विशेष कार्यक्रममा पूर्व सांसद सिंहले औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्। कार्यक्रममा रास्वपाका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थितिमा सिंहसहित ठूलो संख्यामा एमाले परित्याग गरेका नेता–कार्यकर्ताहरू रास्वपामा समाहित भएका थिए।
रास्वपामा प्रवेश गर्दै सिंहले पुराना दलहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए। उनले देशमा नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको भन्दै त्यसका लागि रास्वपा उपयुक्त विकल्प भएको बताए। “अब पुरानो शैलीको राजनीति चल्दैन, जनताले परिवर्तन खोजेका छन्,” उनले भने।
सिंहको पार्टी प्रवेशसँगै रौतहट क्षेत्र नम्बर १ को राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन आउने देखिएको छ। स्थानीय तहमा एमालेको राम्रो प्रभाव मानिँदै आएको क्षेत्रमा प्रभावशाली नेता तथा सयौँ कार्यकर्ता रास्वपामा प्रवेश गरेपछि एमाले थप दबाबमा परेको विश्लेषकहरूको भनाइ छ।
रास्वपाका नेताहरूले सिंहको प्रवेशले पार्टीलाई रौतहटमा अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा जनताको समर्थन प्राप्त गर्ने दाबी गरेका छन्।
उक्त कार्यक्रममा रास्वपाका क्षेत्र दुईका कार्यवाहक सभापति ललन चौरसिया,उपसभापति बिवेक पटेल ,पत्रकार,नेता तथा कार्यकर्ताहरुको पनि विशेष उपस्तिथि रहेका थिए ।


