Lucky-Khabar_

वीरगन्ज कपडा बैंकद्वारा आगलागी पीडित परिवारलाई सहयोग

वीरगन्ज । वीरगन्ज कपडा बैंकले पकहामैनपुर गाउँपालिका–४, सामपुर भेलाहाका आगलागी पीडित परिवारलाई सहयोग प्रदान गरेको छ। आइतबार वीरगन्ज–८ मा अवस्थित कपडा बैंकको कार्यालयमा आयोजित कार्यक्रममा पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो।

content ad p2

गत पौष महिनामा भिमल साह गोढको घरमा लागेको आगलागीबाट घरसहित अन्न, लत्ताकपडा, भाडाकुँडा, नगद तथा गरगहना पूर्ण रूपमा जलेर नष्ट भएको दुखद घटना सार्वजनिक भएपछि कपडा बैंकले सहयोग गर्ने निर्णय गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि कपडा बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी तथा अध्यक्ष लालबाबु सिंहले पीडितका छोरा मेवालाल साह गोढ र पन्नालाल साह गोढलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको सचिव कन्हैया पटेलले जानकारी दिनुभयो।

सहयोग सामग्रीमा २ बोरा चामल, ३ थान कम्बल, ३ थान तन्ना, २ थान तकिया, म्याट, नयाँ तथा पुराना साडी, कुर्ता–सुरुवाल, शाल, स्वेटर, सर्ट–पाइन्ट, ज्याकेट, चिटर, बालबालिकाका कपडा २ बोरा तथा नगद रु. १ हजार १ सय रहेको छ।

कार्यक्रममा कपडा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, सल्लाहकार समाजसेवी बरुण चौरसिया, सदस्यहरू नवराज भट्टराई, अभिलाष गुप्ता, राज सराफ लगायतको सहभागिता रहेको थियो।

सो अवसरमा संरक्षक अधिवक्ता कुर्मीले ‘जो सँग धेरै कपडा छ, हामीलाई दिएर जानुहोस् र जसलाई आवश्यकता छ, हामीबाट निःशुल्क लिएर जानुहोस्’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विगत ७ वर्षदेखि निरन्तर सेवा गर्दै आएको बताउनुभयो। उहाँले प्रत्येक दिन वीरगन्ज–८ स्थित कार्यालयबाट तथा प्रत्येक महिना घण्टाघरलगायत सार्वजनिक स्थानमा, साथै आगलागी, बाढी र अन्य विपद्का पीडितको घरसम्म पुगेर निःशुल्क कपडा वितरण गर्दै आएको उल्लेख गर्नुभयो। आपतविपतमा परेकाको सेवा गर्नु नै मानव धर्म र कर्म भएको बताउँदै उहाँले सहयोगी सबै हातप्रति धन्यवाद व्यक्त गर्नुभयो।

त्यसैगरी अध्यक्ष सिंहले आगलागीले परिवारको सबैथोक जलेर नष्ट हुँदा पीडितको अनुहारमा पीडा र आँसु मात्र बाँकी रहेको उल्लेख गर्दै क्षति न्यूनीकरणका लागि न्यानो कपडा, खाद्यान्न तथा केही नगदको व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले स्थानीय जनप्रतिनिधि, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा अन्य सहयोगीहरूलाई एकजुट भएर पीडित परिवारलाई थप सहयोग गर्न आग्रह गर्नुभयो।

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर