Lucky-Khabar_

पर्सा–१ मा ‘घण्टी’को बढ्दो प्रभाव, कांग्रेस र एमालेका ह्यावीवेट उम्मेदवारलाई कडा चुनौती

वीरगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी चुलिँदै गएको छ। यस क्षेत्रको प्रतिस्पर्धा यसपटक निकै रोचक र प्रतिष्ठाको लडाइँका रूपमा देखिएको छ।

content ad p2

नेपाली कांग्रेसबाट उद्योगी अनिल रुंगटा र नेकपा एमालेबाट प्रदीप यादवजस्ता स्थापित तथा ‘ह्यावीवेट’ उम्मेदवार चुनावी मैदानमा छन्। तर, देशव्यापी रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ लहर र नयाँ राजनीतिक विकल्पप्रति युवाहरूको आकर्षणले पुराना दलका उम्मेदवारलाई गम्भीर चुनौती दिएको छ।

कांग्रेस उम्मेदवार अनिल रुंगटा २०७० सालको संविधानसभा सदस्य हुन्। पार्टी सभापति शेरबहादुर देउवासम्म पहुँच भएका रुंगटालाई मतदाताले चुनावी समयमा मात्र देखिने र भुँइतहका नागरिकसँग कम घुलमिल हुने नेताका रूपमा लिने गरेको पाइन्छ। यस कारण उनीप्रति मतदाताको विश्वास कमजोर हुँदै गएको विश्लेषण गरिएको छ।

उता, एमाले उम्मेदवार प्रदीप यादवमाथि अवसरवादी राजनीतिज्ञको छवि बनेको छ। राप्रपाबाट राजनीति सुरु गरी मधेस केन्द्रित दल हुँदै एमालेसम्म आइपुगेका यादवको बारम्बारको पार्टी परिवर्तनप्रति उनका पुराना समर्थकहरू समेत असन्तुष्ट देखिन्छन्। विगतमा एमाले नेतृत्वप्रति दिएका कडा अभिव्यक्तिहरू नै अहिले उनको चुनावी यात्रामा बाधक बन्न सक्ने संकेत देखिएको छ।

यही राजनीतिक उतारचढावका बीच राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सभापति बुद्धिप्रसाद पन्त (हरि) लाई उम्मेदवार बनाएको छ। ‘जेनजी’ आन्दोलनपछि युवामाझ लोकप्रिय बनेको रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सक्रिय उपस्थितिले थप ऊर्जा पाएको छ। बालेनको देशव्यापी दौडाहामा देखिएको जनक्रेजका कारण पर्सा–१ का मतदाताहरू पनि खुला रूपमा ‘घण्टी’ चिन्हमा मत हाल्ने प्रतिक्रिया दिन थालेका छन्।

प्रतिस्पर्धा यतिमै सीमित छैन। एमालेका अर्का उम्मेदवार अजय चौरसिया, राप्रपाका नवलकिशोर (नन्दु) श्रीवास्तव र जसपा नेपालका रामनरेश यादवको उपस्थितिले मत विभाजन हुने र नतिजा थप अनिश्चित बन्ने देखिन्छ।

धार्मिक मुद्दा प्रभावशाली रहेको यस क्षेत्रमा राजसंस्था सहितको हिन्दु राष्ट्रको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि केही मत आकर्षित गर्न सक्ने अनुमान गरिएको छ। राप्रपाका उम्मेदवार नन्दु श्रीवास्तव २०७४ सालमा पर्सा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विमलप्रसाद श्रीवास्तवका भाइ हुन्। वीरगन्ज महानगरपालिकामा विमल श्रीवास्तवको प्रभावका कारण नन्दु श्रीवास्तवलाई केही अतिरिक्त मत लाभ हुन सक्ने आँकलन गरिएको छ।

२०७४ र २०७९ सालको निर्वाचन जितेका प्रदीप यादवका लागि यसपटक पार्टीभित्रको आन्तरिक द्वन्द्व र आम नागरिकमा बढ्दो एमालेविरोधी धारणा चुनौतीका रूपमा देखिएको छ। त्यस्तै, कांग्रेस उम्मेदवार रुंगटालाई पनि पार्टीभित्रकै असन्तुष्ट समूह र विगतका असहयोगको बदला लिन खोज्ने प्रयासले अप्ठ्यारो पार्न सक्ने सम्भावना प्रबल छ।

साना दलका उम्मेदवारले जनमत होल्ड गर्ने अवस्था र नयाँ शक्तिप्रतिको बढ्दो झुकावका कारण पर्सा–१ मा यसपटकको निर्वाचन ह्यावीवेट उम्मेदवारहरूका लागि निकै सकसपूर्ण र प्रतिष्ठाको लडाइँ बन्ने देखिन्छ। अन्ततः यसको निर्णय भने फागुन २१ गतेको मतदानपछि हुने मतगणनाको परिणामले नै स्पष्ट गर्नेछ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर