वीरगञ्ज । निर्वाचन आयोग ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समयावधि निर्धारण गरेको छ। आयोगका अनुसार फागुन ४ गतेदेखि १८ गते राति १२ बजेसम्म मात्र उम्मेदवार तथा राजनीतिक दलहरूले औपचारिक प्रचार–प्रसार गर्न पाउनेछन्।

संवत् २०८२ साल फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फाल्गुन ३ गते राति १२ बजेपछि अर्थात् फागुन ४ गतेदेखि प्रचार अभियान सुरु हुनेछ। तोकिएको अवधि फाल्गुन १८ गते राति १२ बजेसम्म कायम रहने जनाइएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले निर्वाचन आचारसंहिता २०८२ अनुसार जुलुस, आमसभा, कोणसभा, बैठक, भेला लगायतका कार्यक्रम गर्दा निर्धारित आचरण अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन्।
आयोगले राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन तथा सम्बन्धित सबै पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिँदै निर्धारित समयसीमाभित्र मात्र चुनावी गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।


