वीरगञ्ज । वीरगञ्जमा दुई फरक धार्मिक समुदायबीच देखिएको तनाव समाधान गर्न सर्वपक्षीय बैठकले तीन बुँदे सहमति गरेको छ। आइतबार साँझ श्रीपुर क्षेत्रमा भएको घटनापछि उत्पन्न असहज अवस्था साम्य पार्न सोमबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको हो।

सद्भाव समितिको पहलमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा हिन्दु–मुस्लिम समुदायका अगुवाहरू सहभागी थिए। बैठकले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने, पीडित पक्षबाट जाहेरी दर्ता गराई अनुसन्धान प्रक्रिया तीव्र बनाउने निर्णय गरेको जनाएको छ। दोषी पहिचान र कारबाहीमा धार्मिक अगुवाहरूले समेत सहकार्य गर्ने सहमति भएको बताइएको छ।
यस्तै, व्यक्तिगत घटनालाई धार्मिक वा सामाजिक सद्भाव खल्बल्याउने ढंगले उक्साउने, सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्ने वा घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्तिलाई साइबर तथा प्रचलित कानुनअनुसार कारबाही गरिने निर्णय गरिएको छ।
आगामी दिनमा सद्भाव र शान्ति कायम राख्न नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी तथा धार्मिक अगुवाहरूले संयमता अपनाउँदै एकताको सन्देश प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार बिहानदेखि लागू गरिएको कर्फ्यु आदेश हटाउने समझदारी भएको छ।
स्थानीय प्रशासनले समुदायबीच आपसी विश्वास र शान्ति कायम राख्न सबै पक्षलाई जिम्मेवार र सचेत रहन आग्रह गरेको छ।


