वीरगञ्ज, चैत्र १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार सञ्चालन गरेको स्टिङ अपरेशनमा घुस लिएको आरोपमा दुई जना कर्मचारी पक्राउ परेका छन्।

आयोगका अनुसार प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउतविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा सेवाग्राहीसँग घुस माग गरी दुःख दिएको उजुरी परेको थियो। सोही आधारमा टंगालबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–५ स्थित गहनापोखरीबाट २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नगद रकम र मोबाइलसहित नियन्त्रणमा लिएको हो।

त्यस्तै, रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लवकुमार सिंहलाई पनि घुससहित पक्राउ गरिएको छ। अदालतको फैसलाअनुसार जग्गा फुकुवा गराइदिने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीपछि उनलाई गौरस्थित अदालत परिसरबाट ५० हजार रुपैयाँसहित पक्राउ गरिएको आयोगले जनाएको छ।

दुवै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।



