काठमाडौ ।पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्त ले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पर्सासँग सम्बन्धित विभिन्न गम्भीर विषयहरू उठाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मधेस प्रदेशका सांसदहरूसँग भएको भेटका क्रममा पन्तले यी मुद्दाहरू प्रस्तुत गरेका हुन्।


भेटमा सांसद पन्तले विशेषगरी सिर्सिया नदीको बढ्दो प्रदूषणप्रति सरकारको ध्यानाकर्षण गराउँदै, अधिकार सम्पन्न समिति गठन गरी निश्चित समयसीमाभित्र समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, किसानहरूलाई आवश्यक समयमा पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, वीरगञ्जका क्यासिनोहरूमा नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराउने कार्य भइरहेको आरोप लगाउँदै उनले यसले स्थानीय नागरिकलाई आर्थिक रूपमा क्षति पुर्याइरहेको बताए। यस्तो गतिविधिमा नियन्त्रण गर्न प्रहरी प्रशासन निष्क्रिय रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
यसै क्रममा उनले वीरगञ्ज महानगरपालिकाले विभिन्न स्थानमा ढाट राखेर अवैध असुली गरिरहेको विषय पनि उठाए। उक्त विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको प्रसंग समेत उनले प्रधानमन्त्रीसमक्ष राखेका थिए।
सांसद पन्तका कुरा सुनेपछि प्रधानमन्त्री शाहले तत्कालै प्रहरी महानिरीक्षक र गृह सचिवलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाए। उनले जनप्रतिनिधिहरूले उठाएका जायज विषयहरूलाई सम्बन्धित निकायले बेवास्ता गर्न नहुने स्पष्ट पारे।
भेटमा श्रम मन्त्री दीपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायत मधेस प्रदेशका अन्य सांसदहरूको पनि उपस्थिति रहेको थियो।


