काठमाडौ । पर्सा–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले प्रधानमन्त्री समक्ष पर्सा जिल्लासँग सम्बन्धित विभिन्न गम्भीर मुद्दा उठाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह सँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनले सिर्सिया नदी प्रदूषण, मलखाद अभाव, क्यासिनो गतिविधि र महानगरको अवैध असुलीबारे ध्यानाकर्षण गराएका हुन्।

भेटका क्रममा सांसद पन्तले सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका लागि अधिकार सम्पन्न समिति गठन गरी निश्चित समयसीमा तोकी समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, किसानहरूले आवश्यक समयमा पर्याप्त मलखाद नपाउँदा खेती प्रभावित भएको उल्लेख गर्दै सरकारले कुनै पनि हालतमा मलको आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए।
त्यसैगरी, उनले वीरगञ्जका क्यासिनोहरूले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराएर स्थानीय बासिन्दालाई आर्थिक रूपमा मारमा पारेको आरोप लगाए। यस विषयमा प्रहरी र प्रशासन मौन बसेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
पन्तले वीरगञ्ज महानगरपालिकाले विभिन्न स्थानमा ढाट राखेर अवैध असुली गरिरहेको दाबी पनि प्रस्तुत गरे। यस विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको प्रसंगसमेत उनले प्रधानमन्त्रीसमक्ष राखे।
सांसद पन्तका कुरा सुनेपछि प्रधानमन्त्री शाहले तत्काल प्रहरी महानिरीक्षक र गृह सचिवलाई आवश्यक निर्देशन दिने बताएका थिए। साथै, जनप्रतिनिधिले उठाएका जायज विषयलाई सम्बन्धित निकायले बेवास्ता गर्न नसक्ने स्पष्ट पारे।
उक्त भेटमा श्रम मन्त्री दीपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह तथा मधेस प्रदेशका अन्य सांसदहरूको पनि उपस्थिति रहेको थियो।


