काठमाडौँ । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ मेडिकल जनरलिष्ट डा. सुभाषकुमार चौधरी राष्ट्रिय स्तरमा सम्मानित हुनुभएको छ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कद्वारा आयोजित “स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२” कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसर पारेर कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित विशेष समारोहमा पूर्वस्वास्थ्यमन्त्री सुधा गौतम शर्माले चौधरीलाई अवार्ड हस्तान्तरण गर्नुभयो।

मधेश प्रदेशमा रहेर स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको क्षेत्रमा डा. चौधरीले पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई यस वर्षको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठका अनुसार देशभरका सातै प्रदेशबाट छनोट गरिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा संस्थालाई गरी कुल २० विधामा सम्मान गरिएको हो।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्तित्व तथा संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय हेल्थ अवार्ड आयोजना गर्दै आएको छ।


