काठमाडौँ — हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेको छ। यसका कारण देशभरको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रहरूमा अधिकांश स्थानमा बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ। गण्डकीका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराईका केही भागमा हुरीबतास चल्ने सम्भावना पनि रहेको छ।
आज राति पनि देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ भने कोशी र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै तराई क्षेत्रमा हुरीबतास चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।


