वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकको राजनीतिक शक्ति पछिल्लो समय विचार, सिद्धान्त र नैतिकताबाट विमुख हुँदै गएको बताएका छन्। उनले विचारशून्य राजनीति, सेलेब्रिटी संस्कृतिप्रतिको बढ्दो आकर्षण र सामाजिक सञ्जालमा फैलिएको तर्कहीन बहसले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाइरहेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राउतले वर्तमान अवस्थालाई “विचारशून्य युग” को संज्ञा दिए। उनले लोकतान्त्रिक अभ्यास र संसदीय व्यवस्थाप्रति सम्मान घट्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री संसद्मा उपस्थित भई जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनुपर्ने संवैधानिक तथा नैतिक दायित्वलाई समेत अनावश्यक ठान्ने प्रवृत्ति बढ्नु चिन्ताजनक भएको बताए। 
राउतले राज्यले पछिल्लो समय अवलम्बन गरिरहेको “डोजर संस्कृति” को पनि आलोचना गरे। उनका अनुसार पुरानो पुस्ताका नेताहरूले जेलनेल, संघर्ष र त्यागमार्फत मुलुकको सेवा गरे पनि नयाँ पुस्ताले त्यसको उचित मूल्याङ्कन गर्न नसकेको अवस्था देखिएको छ।
उनले भने, “आज वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ। हामी चौबीसै घण्टा जनताको सेवामा उपलब्ध हुन्छौँ, तर आजभोलि टाढैबाट हात हल्लाउने र जनतासँग नभेट्ने प्रवृत्तिप्रति आकर्षण बढेको छ। यो डार्क साइकोलोजी र एल्गोरिदमको खेल हो, जसमा हामीजस्ता भुईँतहमा काम गर्ने नेताहरू चुकेका छौँ।”
आफूहरू प्रविधि र नयाँ जमानाको सञ्चार शैलीलाई समयमै आत्मसात गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै अध्यक्ष राउतले अब नयाँ पुस्ताको चाहना र बदलिँदो सामाजिक परिवेशअनुसार राजनीतिक शैली तथा कार्यपद्धतिमा परिवर्तन आवश्यक रहेको बताए।
विचार र सिद्धान्तविहीन राजनीतिले देशलाई सही दिशामा लैजान नसक्ने उल्लेख गर्दै उनले राजनीतिक दलहरूले आत्मसमीक्षा गरी लोकतान्त्रिक मूल्य, नैतिकता, जनउत्तरदायित्व र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।



