वीरगञ्ज |रोजगार मेला २०८३ अन्तर्गत युवायुवतीलाई रोजगारीका लागि आवश्यक व्यावसायिक सीप विकास गराउने उद्देश्यले आयोजित ‘सीभी (CV) निर्माण तथा अन्तर्वार्ता तयारी’ सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य संघ (BiCCI), नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), वीरगञ्ज महानगरपालिका, लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट (LDI) तथा ह्युमन रिसोर्स सोसाइटी, मधेश च्याप्टरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको रोजगार मेला २०८३ अन्तर्गत आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले गर्नुभएको थियो। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, सहसचिव अनुप कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेल तथा छिरिङ तामाङको विशेष उपस्थिति रहेको थियो।
प्रशिक्षणको सहजीकरण एचआर सोसाइटी मधेश च्याप्टरका अध्यक्ष तथा मुख्य प्रशिक्षक अनिल जैसवालले गर्नुभएको थियो भने यसको प्राविधिक सञ्चालन लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट (LDI) र ह्युमन रिसोर्स सोसाइटी, मधेश च्याप्टरले गरेको थियो।
प्रशिक्षणमार्फत सहभागीलाई रोजगार बजारको आवश्यकता अनुरूप प्रभावकारी र व्यावसायिक सीभी तयार गर्ने तरिका, अन्तर्वार्ताको तयारी, व्यक्तिगत प्रस्तुतीकरण, सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि तथा व्यावसायिक आचरणका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ५९ जना युवायुवतीको सहभागिता रहेको थियो। सहभागीहरूले प्रशिक्षणले करियर विकास तथा रोजगारी प्राप्तिको तयारीमा महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
आयोजकका अनुसार रोजगार मेला २०८३ अन्तर्गत मुख्य रोजगार मेला आइतबार असार २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म वीरगञ्जस्थित होटल भिस्वामा आयोजना हुनेछ। क्षमता विकासमूलक यस्ता कार्यक्रममार्फत दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन, रोजगारदाता र रोजगार खोज्ने युवाबीच समन्वय तथा स्थानीय स्तरमा रोजगारी प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।


