धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा पारिवारिक विवादका क्रममा छोराले फलामे छड प्रहार गर्दा बाबुको मृत्यु भएको छ। 

शनिबार भएको घटनामा ६४ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उनका ३० वर्षीय छोरा सुजन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काका अनुसार घरमै बाबु–छोराबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो। विवाद चर्किएपछि सुजनले धारिलो फलामे छडले बाबुमाथि जथाभावी प्रहार गरेका थिए।
गम्भीर घाइते भएका धनबहादुरलाई स्थानीयवासीले तत्काल उद्धार गरी फुलखर्क प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि स्थानीयले सुजनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। प्रहरीले उनलाई हिरासतमा राखी घटनामा प्रयोग भएको फलामे छड समेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सुजन केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी उपचार गराइरहेको खुलेको छ। यद्यपि, मानसिक स्वास्थ्य अवस्थाबारे अन्तिम निष्कर्ष अनुसन्धान र कानुनी प्रक्रियापछि मात्रै आउने भएकाले त्यसबारे पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।
मृतक धनबहादुरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


