काठमाडौं । नेपाली चलचित्र तथा टेलिभिजनकी चर्चित अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको पुष्टि भएपछि उनको सफल शल्यक्रिया गरिएको छ।

पारिवारिक स्रोतका अनुसार दिपाश्रीको मंगलबार अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको हो। शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।
जानकारीअनुसार करिब डेढ हप्ताअघि ढाड दुख्ने समस्या देखिएपछि उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन्। चिकित्सकले विस्तृत स्वास्थ्य परीक्षण गर्दा उनको मस्तिष्कमा ट्यूमर रहेको पत्ता लागेको थियो।
ट्यूमर पहिचान भएपछि चिकित्सकको टोलीले शल्यक्रियामार्फत उपचार गरेको हो। हाल उनी चिकित्सकको निगरानीमा उपचाररत रहेकी छन्।
परिवारले दिपाश्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ भने थप उपचार र चिकित्सकीय निगरानी केही दिन जारी रहने बताइएको छ। अभिनेत्री निरौलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।


