Lucky-Khabar_

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

बिरगंज| जनताको समस्या प्रत्यक्ष सुन्ने र विकासका योजनालाई जनताको आवश्यकताअनुसार अघि बढाउने उद्देश्यका साथ सञ्चालन गरिएको ‘जनताको नेता जनता माझ’ अभियानअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद सुशील कानु शुक्रबार पर्सागढी नगरपालिका–५, जिगना पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा विकाससम्बन्धी व्यापक छलफल गरेका छन्।

content ad p2

कार्यक्रममा सांसद कानुले गाउँका नागरिकसँग खुला संवाद गर्दै शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ, सडक, खानेपानी, विद्युत्, युवा रोजगारी तथा अन्य आधारभूत पूर्वाधारका विषयमा स्थानीयवासीका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुने। उनले जनताबाट प्राप्त सुझावलाई विकास योजनाको आधार बनाउँदै सम्बन्धित निकायसँग समन्वय गरी प्राथमिकताका आधारमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

सांसद कानुले “जनप्रतिनिधि निर्वाचन जितेर मात्र जिम्मेवारी पूरा हुँदैन, जनताको घरदैलोमा पुगेर उनीहरूको वास्तविक समस्या बुझ्नु र समाधानका लागि निरन्तर पहल गर्नु नै जनप्रतिनिधिको प्रमुख दायित्व हो,” भन्दै जनताप्रति आफ्नो उत्तरदायित्व दोहोर्याए।

स्थानीय बासिन्दाहरूले जिगना क्षेत्रको सडक स्तरोन्नति, सुरक्षित खानेपानीको व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवा, कृषि उत्पादन वृद्धि, सिंचाइ सुविधा, विद्यालयको शैक्षिक सुधार तथा युवाहरूका लागि रोजगारी सिर्जनालगायतका विषयमा ध्यानाकर्षण गराएका थिए। उनीहरूले सांसद प्रत्यक्ष गाउँमा आएर समस्या सुनेकोप्रति खुशी व्यक्त गर्दै विकास निर्माणका कार्यलाई शीघ्र अगाडि बढाउन आग्रह गरे।

कार्यक्रममा स्थानीय बुध्दिजिवीहरु, यातायात बिभाग प्रमुख रास्वपा मदेश प्रदेशको राम आर्य ,पार्टीको महाधिवेशन प्रतिनिधि सुधिर पटेल,रास्वपा बिरगंज नगर सभापति दिपराज पटेल ,रास्वपा क्षेत्र दुईको सचिव किसन प्रसाद  लगायत जनप्रतिनिधि,  महिला, युवा, किसान तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादले विकास योजनालाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

सांसद कानुले आगामी दिनमा पनि क्षेत्रका प्रत्येक वडा र बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवादलाई निरन्तरता दिइने जानकारी दिँदै ‘जनताको नेता जनता माझ’ अभियानलाई जनभावना र विकासबीचको सशक्त पुलका रूपमा अघि बढाइने बताए।

स्थानीयवासीका अनुसार यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई अझ बलियो बनाउनुका साथै विकास निर्माणका कामलाई गति दिने अपेक्षा गरिएको छ।

 

 

 

 

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर