चितवन । भरतपुर महानगरपालिका–१२ नौरङ्गेमा सामूहिक कुटपिट तथा छुरा प्रहारबाट गम्भीर घाइते भएका १६ वर्षीय रिदम पराजुलीका बुवा रवि पराजुलीको उपचारकै क्रममा निधन भएको छ। छोराको उपचार र न्यायका लागि निरन्तर दौडधुप गरिरहेका रवि पराजुलीको साउन १० गते बिहान ११ः४५ बजे चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

रवि पराजुलीको निधनसँगै परिवार शोकमा डुबेको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएका रिदमको चितवन मेडिकल कलेजमा १६ दिनसम्म उपचार हुँदा दुई पटक शल्यक्रिया गरिएको थियो। हाल उनी घरमै चिकित्सकको निगरानीमा आराम गरिरहेका छन्। शारीरिक रूपमा कमजोर अवस्थामै आफन्तको सहारामा देवघाट पुगेर उनले आफ्नै बुवालाई अन्तिम दागबत्ती दिएका थिए।देवघाटमा भावुक दृश्य देखिएको थियो। दुई पटक शल्यक्रिया गराएका रिदमलाई आफन्तले समातेर उभ्याएका थिए। आँखा रसाउँदै उनले बुवाको पार्थिव शरीरअगाडि उभिएर आफ्नो पीडा व्यक्त गरे।
“मलाई योजनाबद्ध रूपमा मार्न खोजिएको थियो। आन्द्रामा प्वाल पर्ने गरी चक्कु प्रहार गरियो। अहिले पनि उपचाररत छु। मेरो उपचार र न्यायका लागि लड्ने मेरो बुवा नै रहनुभएन,” रिदमले भावविह्वल हुँदै भने।उनले बुवा दिनरात प्रहरी, जनप्रतिनिधि तथा चिनेजानेका व्यक्तिसँग न्यायका लागि पहल गरिरहेको स्मरण गर्दै अब आफ्नो आवाज उठाउने अभिभावक गुमाएको बताए।
रिदमकी दिदीले पनि घटनापछि रवि पराजुलीले उपचार खर्च जुटाउने, प्रहरी कार्यालय धाउने र दोषीलाई कारबाही गराउन निरन्तर प्रयास गरेको बताइन्। “भाइमाथि अन्याय गर्नेहरूलाई छोड्दिनँ भन्ने अठोट उहाँमा थियो। तर न्यायको अन्तिम परिणाम हेर्न नपाउँदै उहाँ हामीलाई छोडेर जानुभयो,” उनले भनिन्।घरमा रहेका रविका आमाबुवा, दिदीबहिनी, आफन्त तथा छरछिमेकीहरू पनि शोकमा डुबेका छन्। छोराको निधनको खबरपछि रविकी आमा बेहोसजस्तै भएको र परिवारमा रुवाबासी चलेको बताइएको छ।
रवि पराजुलीकी बहिनी सिर्जना सुवेदीका अनुसार साउन ८ गते साँझ रविलाई ज्वरो आएको थियो। स्थानीय स्वास्थ्यकर्मीले औषधि दिएपछि केही सुधार देखिए पनि भोलिपल्ट फेरि ज्वरो बढेपछि उनलाई चितवन मेडिकल कलेज लगिएको थियो। आईसीयूमा उपचार भइरहेका उनको एक दिनपछि निधन भएको हो।सिर्जनाले दाइलाई आफ्नै स्वास्थ्यभन्दा छोराको न्यायको चिन्ता बढी रहेको बताइन्। “उहाँ बिरामी हुँदा पनि छोराले न्याय पाउँछ कि पाउँदैन भन्ने चिन्तामै हुनुहुन्थ्यो। जनप्रतिनिधि, प्रहरी र सम्बन्धित निकायसँग सहयोग माग्दै न्यायका लागि पहल गरिरहनुभएको थियो,” उनले भनिन्।
यसैबीच, रिदममाथि आक्रमण गरेको आरोपमा प्रहरीले पाँच जनामध्ये चार जनालाई करिब एक महिनापछि चितवनको चनौली क्षेत्रबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ। घटनामा संलग्न भनिएका एक जना भने अझै फरार रहेका छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।पीडित परिवारले सबै संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माग दोहोर्याएको छ।
उल्लेखनीय छ, गत जेठ ३१ गते भरतपुर–१२ नौरङ्गेमा पाँच जनाको समूहले रिदम पराजुलीमाथि सामूहिक कुटपिट गर्दै छुरा प्रहार गरेको थियो। घटनामा उनको पेटमा गम्भीर चोट लागेको थियो।छोराको उपचार र न्यायका लागि निरन्तर संघर्ष गरेका रवि पराजुलीले आफूले चाहेको न्यायको अन्तिम परिणाम हेर्न नपाउँदै संसारबाट बिदा लिएका छन्। अहिले परिवार घाइते रिदमको उपचारसँगै न्यायको लडाइँलाई निरन्तरता दिने तयारीमा रहेको छ।


