जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिस्ट दलहरूकै कारण देश लामो समयदेखि अस्थिरता र राजनीतिक भाँडभैलोको शिकार बनेको आरोप लगाएका छन्।

हालै नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार गठनसम्बन्धी भएको सहमतिबारे प्रतिक्रिया दिँदै अध्यक्ष यादवले विगत चार दशकदेखि कांग्रेस र कम्युनिस्ट दलहरूले सत्ता साझेदारी र भागबन्डाको राजनीति गर्दै आएको टिप्पणी गरे।उनले भने, “विगत ४० वर्षदेखि यी दलहरूले के–के गरे, जनतालाई सबै थाहा छैन र ?”
विगत ४० वर्षको अवधिमा मिलीजुली सरकार र भागबन्डाको राजनीतिका कारण ३५ वटा सरकार गठन भए पनि जनताको अपेक्षाअनुसार स्थायित्व र विकास हुन सकेको छैन। “अहिले पनि त्यही गरिरहेका छन्। जनताको चाहना स्थायी सरकार र विकास निर्माण हो, तर जनताको चाहनालाई उनीहरूले वास्ता गरेका छैनन्,” उनले भने।
उनले प्रदेश सरकार गठनसम्बन्धी एमाले–नेकपाबीच भएको सहमतिप्रति संकेत गर्दै यादवले ती दलहरूको राजनीतिक खेल सकिएपछि मात्रै आफ्नो पार्टीले आगामी रणनीतिबारे निर्णय गर्ने बताए। “यी दलहरूको खेल सकियोस्, त्यसपछि हामी हाम्रोतर्फबाट के गर्ने भन्नेबारे सोच्नेछौँ,” भने।मधेस प्रदेश सरकारका सम्बन्धमा हालसम्म कुनै पनि दलसँग औपचारिक छलफल नभएको स्पष्ट पार्दै उनले अहिले प्रदेशमा पुराना तीन दलको गठबन्धन सरकार कायम रहेको र उनीहरू त्यसलाई निरन्तरता दिन चाहिरहेको बताए। तीन दलको राजनीतिक ‘तमासा’ समाप्त भएपछि मात्रै जसपा नेपालले आफ्नो धारणा तय गर्ने उनको भनाइ छ।
शनिबार एमाले र नेकपाबीच पाँच प्रदेशमा सरकार गठनका लागि भागबन्डासम्बन्धी सहमति भएको थियो। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलहरूको सहयोग आवश्यक पर्ने भएकाले थप छलफल अगाडि बढाउने निर्णय गरिएको बताइएको छ।हाल मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्ण यादवको नेतृत्वमा एमाले र नेकपा सम्मिलित गठबन्धन सरकार सञ्चालनमा छ भने जसपा नेपाल प्रतिपक्षी भूमिकामा रहेको छ।


