काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोशी प्रदेश प्रहरी नेतृत्वमा व्यापक हेरफेर गरेको छ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ। उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सुनसरीको जिम्मेवारी दिइएको छ।
यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा सशस्त्र प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको गृह मन्त्रालयले जनाएको छ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो। उक्त घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिलाई एक साताभित्र घटनाबारे प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा बुधबार बिहान ७ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा अवस्था सामान्य बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाइएको छ।


