वीरगञ्ज । नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका–२५ निवासी ५० वर्षीय राजकुमार पटेलका परिवारजन तथा आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै मंगलबार वीरगञ्जको बहुअरी (ड्राइपोर्ट) चोकमा धर्ना दिएका छन्।

धर्नामा सहभागीहरूले उपचारमा चिकित्सकको लापरबाहीका कारण राजकुमार पटेलको मृत्यु भएको आरोप लगाउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न, निष्पक्ष अनुसन्धान गर्न तथा दोषी प्रमाणित हुने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।
गत शनिबार उपचारका क्रममा पटेलको मृत्यु भएपछि उनका आफन्तले नारायणी अस्पताल परिसरमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा अस्पतालको आकस्मिक कक्षमा तोडफोड भएको थियो भने अस्पताल प्रशासनका अनुसार कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण हुँदा उनी गम्भीर घाइते भएका छन्। उनको हाल सघन उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
यता, मृतक पक्षले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन् भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्थामाथि भएको हिंसाको विरोध गर्दै दोषीमाथि कडा कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
यस घटनाले उपचारमा लापरबाहीको आरोप, अस्पतालको सुरक्षा व्यवस्था तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसाका विषयलाई लिएर व्यापक बहस सिर्जना गरेको छ। घटनाको छानबिन प्रक्रिया जारी रहेको सम्बन्धित निकायले जनाएको छ।


