काठमाडौं । सुनसरीको देवानगञ्ज (कप्तानगञ्ज) मा भएको दुःखद घटनाको प्रभाव सिरहाको लहान बजारसम्म पुगेपछि बिहीबार त्यहाँ प्रदर्शन र तनाव उत्पन्न भएको छ।प्रदर्शनका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शन हिंसात्मक बन्दै गएपछि सुरक्षा अवस्था थप बिग्रन नदिन हवाई फायर गर्नुपरेको हो। घटनापछि लहान बजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक परिचालन गरिएको छ।स्थिति थप जटिल हुन नदिन स्थानीय प्रशासनले लहान बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गर्ने अन्तिम तयारी गरिरहेको जनाएको छ।
यसअघि नै सिरहाको गोलबजार क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ।प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, शान्ति कायम राख्न तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ। स्थानीय अवस्था सामान्य बनाउन सुरक्षा सतर्कता अझ कडा पारिएको जनाइएको छ।


