Lucky-Khabar_

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

काठमाडौं । पश्चिम नवलपरासीको विवादित सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली भूमिभित्र प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको घटनापछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।

content ad p2

आइतबार दिउँसो करिब ३ः३० बजे हतियारसहितका भारतीय एसएसबी र सादा पोसाकका व्यक्तिसहित करिब ७५ जनाको टोली नेपाली सीमाभित्र प्रवेश गरी सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा स्थानीयवासीले निर्माण गरिरहेको १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काएको स्थानीयले बताएका छन्।

सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय टोली दुई देशको सीमा मानिएको सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको हो। उनका अनुसार भारतीय पक्षले कुनै समन्वय वा सहमति नगरी एकतर्फी रूपमा संरचना भत्काएपछि स्थानीयवासीले विरोध जनाएका थिए।

घटनाका क्रममा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच भनाभन तथा तनावको अवस्था सिर्जना भएको थियो। स्थानीयले प्रतिवाद गर्ने प्रयास गरे पनि हतियारसहित ठूलो संख्यामा आएका एसएसबीका कारण उनीहरू पछि हट्न बाध्य भएको जनाइएको छ।

स्थानीयका अनुसार यसअघि पनि गत असार महिनामा भारतीय सुरक्षाकर्मीले सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माण रोक्न दबाब दिएका थिए। सीमा स्तम्भको अभाव र नारायणी नदीले धार परिवर्तन गर्दै जाँदा सुस्ता क्षेत्रमा पटक–पटक सीमा विवाद र भारतीय हस्तक्षेप हुने गरेको उनीहरूको भनाइ छ।

घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन नेपाल सशस्त्र प्रहरी बल (एपीएफ)को टोली घटनास्थलमा परिचालन गरिएको छ। सुरक्षा निकायले सीमा क्षेत्रको अवस्था निगरानीमा राखेको जनाएको छ।

सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारतबीचको संवेदनशील सीमा विवादको केन्द्र रहँदै आएको छ। पछिल्लो घटनाले सीमा सुरक्षासम्बन्धी विषय फेरि चर्चामा आएको छ भने स्थानीयले नेपाली भूमिको संरक्षणका लागि सरकारले कूटनीतिक तथा सुरक्षा पहल प्रभावकारी बनाउनुपर्ने माग गरेका छन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर