वीरगञ्ज । साउन महिनाको पहिलो सोमबारका अवसरमा पर्साको पेटर्वा सुगौली गाउँपालिकास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा दर्शन तथा जल अर्पण गर्न बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ।

भाथाधामका शम्भु महतो थारुका अनुसार नेपालका विभिन्न जिल्ला तथा भारतको बिहारलगायत सीमावर्ती क्षेत्रबाट हजारौं भक्तजन बिहानैदेखि मन्दिर परिसरमा पुगेका छन्। श्रद्धालुहरूले ‘बोलबम’को जयघोष गर्दै सोता नदीमा स्नान गरी गङ्गाजल लिएर पहाडमाथि अवस्थित बाबा दुधेश्वरनाथ महादेव मन्दिरमा जल अर्पण गरिरहेका छन्।
धार्मिक विश्वासअनुसार साउन महिनाभर भगवान् शिवलाई जल चढाई पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यही विश्वासका कारण प्रत्येक वर्ष साउन महिनाभर भाथाधाममा नेपाल र भारतबाट ठूलो संख्यामा भक्तजनको आगमन हुने गर्दछ।
मन्दिर व्यवस्थापन समितिका अनुसार साउन महिनाभर भाथाधाममा धार्मिक मेला सञ्चालन हुनेछ। यस तीर्थस्थलमा विशेषगरी साउन महिनाका सोमबार तथा वैशाख महिनाको त्रयोदशी (तेरस) का अवसरमा लाखौं श्रद्धालु दर्शनका लागि आउने परम्परा रहँदै आएको छ।
मन्दिर परिसरसँगै बग्ने सोता नदी, हरियालीले ढाकिएका पहाड र रमणीय प्राकृतिक वातावरणले भाथाधामको धार्मिक मात्र नभई पर्यटकीय महत्वसमेत बढाएको छ। साउनको पहिलो सोमबार भक्तजनहरू श्रद्धा, भक्ति र उत्साहका साथ भगवान् शिवको पूजा–आराधनामा सहभागी हुँदै जल अर्पण गरिरहेका छन्।


