३१ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई बालेनले झैं काम गर्न सुझाएका छन् ।

भूमिको वर्गीकरण गर्न र वर्गीकरण अनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिनुपर्ने उनको आग्रह छ । अन्यथा मुलुक बन्न नसक्ने सांसद शाहीले बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले खानीयोग्य, औद्योगिक, कृषियोग्य र बसोबासको जमिन छुट्याउन आवश्यक रहेको बताए । यसका लागि सरकारले कठोर निर्णय लिएर अगाडि बढ्न सुझाव दिएका छन् ।
उनी भन्छन्, ‘अप्रिय निर्णय गरिदिनुस्, जहाँजहाँ बस्ती हुन्छन् त्यो बस्ती भएका ठाउँमा कसैले खानी चलाउन पाउँदैन भन्ने नीति बनाउनुस् । जहाँजहाँ खेतीयोग्य जमिन छ, त्यो खेतीयोग्य जमिनमा बस्ती बसाउन पाउँदैन् भन्नुस्’ उनले भने ।
‘कृषियोग्य जमिनमा कसैले बस्ती बसालेको छ भने काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले डोजर बोके जसरी बोकेर भत्काइदिनुस् । त्यसपछि गैर बल्ल देश सही बाटोमा जान्छ’ शाहीले भने ।
कृषियोग्य जमिन मासिंदै गएको उल्लेख गर्दै उनले सबै गम्भीर हुनुपर्ने बताए । भूमि सुधार गर्न नसके नेपालको भविष्य अन्धकारतर्फ उन्मुख हुने उनले बताएका छन् ।


