Lucky-Khabar_

विद्युत प्राधिकरणको डेढ अर्बमा बनेको डाटा सेन्टर सञ्‍चालनमा

१४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण  सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालन सुरु छ ।

content ad p2

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित भारप्रेषण केन्द्रसँग निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधा सम्पन्न वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टरको उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण  सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएको बताए ।

एसियाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले प्राधिकरणको सेवालाई आधुनिक तथा डिजिटल बनाउन महत्त्वपूर्ण कोशेढुङ्गा हासिल भएको बताए ।

उनले ऊर्जाको लागत घटाउन तथा भरपर्दो सेवा प्रवाहका लागि संस्थाको डिजिटलाइजेसन आवश्यक रहेको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवा प्रवाहलाई स्वचालित, आधुनिक बनाई विद्युत् प्रणाली सुधार्न ‘डिजिटल एनईए’ अन्तर्गत धेरै काम अगाडि बढाइएको बताए ।

उनले डिजिटल एनइएमार्फत सूचना प्रविधिको प्रयोगमार्फत प्रशासन लागत घटाउने, कर्मचारीको दक्षता वृद्धि गर्ने, विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउने काम भइरहेको बताए ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छ । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर छ ।

डाटा सेन्टरका लागि तोकिएको ‘टियर ३’ अन्तर्राष्ट्रिय मापदण्ड पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाह डिजिटल तथा आधुनिक बनाउने उद्देश्य पूरा गर्न ‘डिजिटल एनईए’ कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडेलको डाटा सेन्टर नेपालमै पहिलो हो ।

डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायत डाटा एकीकृत भण्डार गरी क्रमशः राखिएकाे जनाइएको छ ।

विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरका रूपमा सञ्चालन गरिने छ ।

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याक राखिएको छ । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्त पूरा गर्न आवश्यक व्याकअप सहित अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायत व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भए डाटा सेन्टरलाई सुरक्षित रूपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ ।

३ सय केभीए क्षमताका दुई थान मोडुलर यूपीएस जडान गरिएको छ । यूपीएसको विश्वसनीयता ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मत सम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नु पर्दैन ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टर जोड्न वैकल्पिक मार्गसहित अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरण प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारी खटाइएको छ ।

डाटा सेन्टर अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणाली अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने गरी पूर्वाधार संरचना निर्माण गरिएको छ ।

यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसन जोडिने छन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिको ग्राहकका घरसम्म पुग्ने विद्युत् वितरण प्रणाली व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डाटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्ष नोभेम्बरबाट काम सुरु भएको थियो ।

सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब १ अर्ब ४० करोड रुपैयाँ छ भने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

रोकिएको पर्सा यातायात कार्यालयको भवन निर्माण तत्काल अघि बढाउने मन्त्री थापाको प्रतिबद्धता

लक्की खबर

JHARIMAI CONSTRUCTION ले सुरु गर्‍यो निर्माण सेवा

लक्की खबर