Lucky-Khabar_

जब कैदीले जेलबाट निस्कन अर्का कैदीलाई साढे २ करोड बुझाए

विश्वास दिलाउन भाइटीका लगाउन श्रीमतीलाई कारागार पठाए, अनि सुरु भयो ठगीको खेल ।
२३ असार, काठमाडौं। सधैं जस्तै डिल्लीबजार जेल परिसरभित्र मर्निङ वाकमा थिए केदारप्रसाद गौतम । हल्का कुदिरहेका बेला केदारको ‘कुम’ अर्का कैदीसँग ठोक्कियो । ठोक्किएपछि बोल्नै पर्‍यो । बोलेपछि चिनापर्ची हुने नै भयो । ‘म दीपकप्रसाद चौलागाईं, घर रामेछापको दोरम्बा–५ ।’

content ad p2

केदार र दीपकबीच थप सोधखोज सुरु भयो । केदारको थर गौतम रहेको जानकारी पाएपछि दीपकले साइनो केलाए, ‘मेरो ससुराली पनि गौतम हो ।’ ‘ज्वाइँसाब’ साइनो फुरिहाल्यो ।

यसरी नजिकिएका थिए सर्लाहीको रानीगञ्ज घर भएका केदारप्रसाद गौतम र दोरम्बा घर भएका ५० वर्षीय दीपक । यो २०७८ भदौको कुनै एक बिहानको कुरा थियो । दुवैको कारागार बसाइमा एउटा समानता भेटिन्छ– बैंकिङ कसुर । कसुर एउटै हो तर फरक–फरक घटनामा, सजाय पनि फरक ।

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएर ११ दिन कैद १५ लाख जरिवाना सुनाइएपछि कैद भुक्तानका लागि कारागार आइपुगेको दीपकले केदारलाई बताए । त्यसपछि केदारले पनि बैंकिङ कसुरमै आफूलाई ५ वर्ष कैद सुनाइएको बेलीविस्तार लगाए । तर कैद भुक्तान गरेको भने ६ वर्ष भइसकेको थियो ।

२०७२ असारदेखि केदार कारागारमै थिए । ५ वर्ष कैद तोकिएको तर ६ वर्षसम्म जेलमै रहेको सुनाएपछि दीपकले थप सोधखोज गरे । कारण खुल्यो करिब ३३ करोड बिगो बुझाउन नसक्दा कैदमै बस्नु परेको ।

कैद बसेको ११ दिनमै छुटेर जाने दीपकले योजना सुनाए– बिगोको बन्दोबस्त म मिलाउँछु । अब कारागारबाट निस्कनुपर्छ । ३३ करोड बिगो तिर्न नसके पनि जायजेथा धरौटी राखेर निस्कन मिल्ने र त्यसका लागि केही रकम खर्च गर्नुपर्ने बताएपछि केदार तयार भए ।

जब विश्वास दिलाउन भाइटीका लगाउन श्रीमतीलाई कारागार पठाए

अनुसन्धानका क्रममा दीपकले विश्वास दिलाउनकै लागि केदारलाई भाइटीका लगाउन आफ्नी श्रीमती रीताकुमारी चौलागाईंलाई समेत पठाएको खुलेको छ ।

२०७८ सालको तिहारमा भाइटीका लगाउन भन्दै दीपकले श्रीमती रितालाई पठाएका थिए । श्रीमती रिताले समेत यो कुरा स्वीकार गरेकी छिन् । ‘श्रीमान्ले कर गरेपछि डिल्लीबजार कारागारमै गएर केदारलाई टीका लगाइदिएकी हुँ । उहाँ पनि गौतम हुनुहुँदोरहेछ । त्यतिबेला मात्रै हाम्रो भेटघाट र चिनजान भएको हो’, रिताले बयानमा भनेकी छिन् ।

त्यतिबेला आफ्ना श्रीमान् दीपकसँग केही कामको कुरा भइरहेको भन्नेबारे केदारले बताए पनि आफूले के काम भनेर सोधीखोजी नगरेकाले आफूलाई केही थाहा नभएको रिताको भनाइ छ । ‘ज्वाइँले अदालतको काम गरिरहनुभएको छ भन्नुभएको हो । तर के काम भनेर मैले थप सोधीखोजी गरिनँ’, रिताले प्रहरी समक्ष बताएकी छिन् ।

अनि सुरु भयो ठगीको खेल

भाइटीका समेत लगाएर विश्वास दिलाएपछि जेलमै बनेको योजना अनुसार दीपकले बाहिर निस्केर केदारका आफन्त लेखराज गौतम र श्रीमती सम्झना गौतमलाई भेटे ।

धरौटीका लागि जग्गा राख्ने बताउँदै एक हप्तापछि कुरा गर्ने भनेर दीपक र लेखराज छुट्टिए । जग्गा मिलाएको भन्दै केदारसँग सुरुमा १५ लाख रुपैयाँ दीपकले मागे । केदारको घर गएर उनकी श्रीमती सम्झनामार्फत बलराम दंगाल नाम गरेको मानिसको १५ लाखको चेक दीपकले बुझे । यद्यपि उक्त चेक आफूले लेखराज गौतमलाई दिएको दाबी गरेका छन् ।

१५ लाख लिएको केही समयपछि फेरि सिन्धुपाल्चोकमा २२० रोपनी जग्गा मिलेको छ । लालपुर्जा समेत छ भन्दै आफूलाई म्यासेन्जरमा लेखराजले पठाएको दीपकले बताएका छन् । उक्त जग्गाको लालपुर्जा देखाएर फेरि केदारबाट २० लाख रुपैयाँ दीपकको समूहले लियो । केदारले निर्मला गौतम मार्फत २० लाखको चेक दिएका थिए ।

यद्यपि यो चेक पनि साटेर लेखराज गौतमको नबिल बैंक लिमिटेडको खातामा जम्मा गरेको दाबी दीपकले प्रहरीसमक्ष गरेका छन् ।

दीपकले पैसा जति सबै लेखराजलाई दिएको दाबी गरेका उनै लेखराजको यही बीचमा मृत्यु हुन पुग्यो । ३५ लाख रुपैयाँ केदारबाट लिइसकेपछि कोरोनाका कारण लेखराजको मृत्यु भएपछि अर्का व्यक्ति जोडिए मीनबहादुर बस्नेत ।

अब काम अघि बढेको भन्दै केदार मार्फत विभिन्न व्यक्तिबाट पटक पटक गरी अहिलेसम्म २ करोड १५ लाख रुपैयाँ यो समूहले लिन्छ । तर काम हुनुको साटो उनीहरू सम्पर्कविहीन हुन्छन् ।
मीनबहादुरले कारागारमै गएर केदारलाई भेटेर काम हुनेमा ढुक्क हुन भन्दै विश्वास दिलाए । थप जग्गा जुटाएर निकाल्ने काममा मीनबहादुरको औपचारिक प्रवेश भयो ।

त्यसपछि मीनबहादुरले सिन्धुपाल्चोककै थप जग्गाहरू खोजी गरिसकेको भन्दै लालपुर्जा समेत लिएर डिल्लीबजार कारागार पुग्छन् । केदारलाई निवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउन लगाउँछन् ।

काम अघि बढेको भन्दै २१ साउन २०७८ मा लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको चुणकुमार गौतमको नाममा खाता रहेको चेक मार्फत ५० लाख यो समूहले लगेको पीडित पक्षको दाबी छ ।

केदारले नै भने अनुसार आफूले पटक–पटक दीपकलाई ५० लाख दिएको भन्दै बयान दिएका छन् । सुरज लामाले पनि दुई पटक गरेर २५ लाख दीपकलाई दिएको बताएका छन् ।

अब काम अघि बढेको भन्दै केदार मार्फत विभिन्न व्यक्तिबाट पटक पटक गरी अहिलेसम्म २ करोड १५ लाख रुपैयाँ यो समूहले लिन्छ । तर काम हुनुको साटो उनीहरू सम्पर्कविहीन हुन्छन् ।

२ करोड १५ लाख तिर्दा पनि अहिलेसम्म बाबु कारागारमै रहेपछि उनका छोरा सिद्धार्थले प्रहरी वृत्त नयाँबानेश्वरमा १ जेठ २०८१ मा ठगीको जाहेरी दिएका थिए । १४ जेठमा काठमाडौंबाट दीपक र उनकी श्रीमती रितालाई पक्राउ गरिएको नयाँबानेश्वर वृत्तका इन्स्पेक्टर सुशोभन श्रेष्ठले बताए । मीनबहादुर भने अहिलेसम्म फरार छन् ।

२ करोड १५ लाख मागदाबी गर्दै मुद्दा दर्ता

यो ठगी प्रकरणमा प्रहरी वृत्त नयाँबानेश्वरले मुद्दा दायर गरेको छ । वृत्तका इन्स्पेक्टर सुशोधन श्रेष्ठका अनुसार २ करोड १५ लाख माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

जसमा दीपक र उनकी श्रीमती ४७ वर्षीया रिताका साथै मकवानपुरको थाहा नगरपालिका–४ का मीनबहादुर बस्नेत विरुद्ध मुद्दा दायर गरिएको छ । श्रीमान्–श्रीमती पक्राउ परे पनि मीनबहादुर भने अहिलेसम्म फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको नयाँबानेश्वर वृत्तले जनाएको छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गतको ठगी कसुर गरेको भन्दै उनीहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ । जसमा ठगी बराबरको बिगो २ करोड १५ लाख भराउनुका साथै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गतको ठगी कसुर गरेको भन्दै उनीहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ । जसमा ठगी बराबरको बिगो २ करोड १५ लाख भराउनुका साथै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।

त्यस्तै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क भराउन समेत मागदाबी गरिएको छ ।

उनीहरूलाई बयानका लागि आइतबार अदालत उपस्थित गराइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासमा उनीहरूको बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ ।

ताराप्रसादलाई पनि जेलबाट निकाल्छु भन्दै ४८ लाख ठगी

त्यसैगरी जेलमै रहेका अर्का व्यक्ति ताराप्रसाद काफ्लेलाई पनि बाहिर निकाल्ने भन्दै ४८ लाख रुपैयाँ दीपकले ठगी गरेको खुलेको छ ।कृषि विकास बैंकको जाहेरीपछि सीआईबीले ताराप्रसादलाई पक्राउ गरेको थियो । तर उच्च अदालत पाटनले उनलाई ३३ लाख धरौटीमा छोड्न आदेशपछि छुटेका थिए ।

पछि अदालतले फैसला गर्दा ४ वर्ष कैद र ३ करोड १४ लाख ४८ हजार जरिवानाको फैसला सुनाइएको थियो । उक्त फैसला विरुद्ध ताराप्रसाद सर्वोच्च अदालत पुगेका थिए ।

अन्तिम पटक तारेख लिन अदालत पुग्दा ३ करोड १४ लाखको धरौटी राख्न नसकेकाले अब तारेखमा बस्न नमिल्ने भन्दै ताराप्रसादलाई जेल पठाइएको थियो । उनी कारागारभित्रैबाट मुद्दा लड्दै ३ करोड जरिवाना बापतको जायजेथा धरौटी राख्ने प्रयासमा थिए ।

सोही क्रममा ताराप्रसादको जेलमै दीपकसँग भेट भएपछि दीपकले धरौटी राख्ने व्यवस्था मिलाइदिन्छु भन्दै ४८ लाख रुपैयाँ लिएर ठगी गरेको खुलेको छ ।

४८ लाख रुपैयाँ बुझाइसकेपछि १७ माघ २०७८ मा ताराप्रसादको डिल्लीबजार कारागारमै मृत्यु भएको थियो । आफ्ना श्रीमान्लाई जेलबाट निकाल्छु भन्दै ४८ लाख रुपैयाँ ठगी गरेको पाइएपछि श्रीमती विनिता काफ्लेले प्रहरीमा दीपक र उनकी श्रीमती रिता विरुद्ध जाहेरी दिएकी थिइन् । अहिले यी दुवै मुद्दा एकसाथ राखी प्रतिवादी विरुद्ध बयान भइरहेको छ ।

जेलबाट निस्कन २ करोड १५ लाख बुझाउने केदार को हुन् ?

केदार अहिले केन्द्रीय कारागार सुन्धारामा छन् । जेलबाट निस्कन भन्दै उनले २ करोड १५ लाख त दीपकको समूहलाई मात्रै बुझाएका थिए । जेलबाट निस्कन २ करोड बढी बुझाउने केदार भने कुनै समय कृषि विकास बैंकको शाखा अधिकृत थिए ।

बैंककै करिब ३४ करोड हिनामिना गरेपछि उनी पक्राउ परेर अहिलेसम्म जेलमै छन् । २०७२ सालसम्म केदार कृषि विकास बैंकको स्वयम्भूस्थित शाखामा शाखा अधिकृतको रूपमा कार्यरत थिए । सोही बेला उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८ असार २०७२ मा पक्राउ गरेको थियो ।

केदारले कोर बैंकिङ सिस्टम लागू नभएका शाखाहरूमा रेमिट्यान्सबाट रकम आएको देखाएर आफूले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए । उनले आफूलाई तेजबहादुर थापा भनेर चिनाउँथे र सोही अनुसारका आईडी कार्डहरू समेत बनाएका थिए भने तेजबहादुरकै नाममा नक्कली खाता खोलेका थिए ।

उनले २०७१ असारदेखि एक वर्षमा ५५ पटकमा गरी ३३ करोड ८२ लाख ५७८ रुपैयाँ निकालेका थिए । त्यतिबेला सीआईबीले केदारबाट करिब १ करोड रुपैयाँ रिकभर गरेको थियो ।

केदारले कोर बैंकिङ सिस्टम लागू नभएका शाखाहरूमा रेमिट्यान्सबाट रकम आएको देखाएर आफूले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए । उनले आफूलाई तेजबहादुर थापा भनेर चिनाउँथे र सोही अनुसारका आईडी कार्डहरू समेत बनाएका थिए भने तेजबहादुरकै नाममा नक्कली खाता खोलेका थिए ।

यो प्रकरणमा केदारका साथै उनकी जेठी श्रीमती सम्झना, कान्छी श्रीमती जेनी श्रेष्ठ, स्वयम्भू शाखाकी लेखापाल गीता पन्त, शाखा प्रबन्धक भरतबहादुर बानियाँ, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दिप गुप्ता र रामकुमार कुम्हार गरी ९ जना पक्राउ परेका थिए ।

उच्च अदालत पाटनकी न्यायाधीश नीता गौतम दीक्षित र शान्तिसिंह थापाको संयुक्त इजलासले २८ कात्तिक २०७४ मा केदारलाई मात्रै ५ वर्ष कैद र ३२ करोड ९४ लाख ८० हजार ७०४ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

शाखा प्रबन्धक भरतलाई १ लाख जरिवाना र १ महिना कैद, गीता, जेनी र सुमनलाई सफाइको फैसला गरेको थियो । सम्झनालाई ५० लाख जरिवाना, रामकुमार र सन्दिपलाई जनही २५ हजार जरिवाना र १५ दिन कैद र सूर्यबहादुरलाई ३० लाख जरिवाना र २ वर्ष कैदको फैसला सुनाएको थियो ।

केदार विरुद्ध अख्तियारदेखि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा

बैंकिङ कसुरमा दोषी ठहर भएका केदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले समेत मुद्दा दायर गरेका छन् । केदार सहित ८ जनालाई अभियुक्त बनाउँदै अख्तियारले ९ मंसिर २०७६ मा मुद्दा दायर गरेको थियो ।

सरकारी सम्पत्ति हिनामिना गरी लाभ लिएको भन्दै करिब ३४ करोड मागदाबी सहित मुद्दा दायर भएको थियो ।

यसैगरी गत चैतमा मात्रै केदार विरुद्ध सम्पत्ति शुद्धीकरणले पनि मुद्दा दायर गरेको छ । ८ वर्ष लामो अनुसन्धान सकेर ५ चैत २०८० मा केदार विरुद्ध सम्पत्ति शुद्धीकरणले ३४ करोड ६९ लाख ४१ हजार बिगो कायम गर्दै मुद्दा दायर गरेको छ । यी दुवै मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छन् ।एजेन्सी

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर