Lucky-Khabar_

विश्वासको मत दिन सक्दैनौँ तर ओली प्रधानमन्त्री बन्दा खुसी छु : राजेन्द्र लिङ्देन

६ साउन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत दिन सक्दैनौँ तर ओली प्रधानमन्त्री बन्दा आफू खुसी भएको बताएका छन् ।
विगतमा एमालेसँग दुईवटा चुनावमा सहकार्य गरेको भन्दै लिङ्देनले आफूहरूले भोट दिएका व्यक्ति प्रधानमन्त्री बनेको भन्दै खुसी व्यक्त गरे ।
‘केपी शर्मा ओली प्रधानमन्त्री बन्दा स्वाभाविक रूपमा प्रतिपक्षी दलमध्ये म बेसी खुसी छु, किनभने दुई दुई पटक मेरो पार्टीले उहाँलाई मत दिएको छ, मैले पनि मत दिएको छु’, उनले भने ।
गत आम चुनावमा राप्रपाले प्रतिनिधि सभामा ३ क्षेत्र र प्रदेश सभामा ४ क्षेत्रमा एमालेको सहयोग लिएको र एमालेलाई प्रतिनिधि सभामा १० ठाउँ र प्रदेश सभामा २२ ठाउँमा सहयोग गरेको लिङ्देनले बताए ।
‘अन्य राजनीतिक दलसँग पनि सम्बन्ध राम्रै छ र एमालेसँग विशेष सम्बन्ध छ । एमालेले नेतृत्व गरेको सरकार बन्दा उहाँ प्रधानमन्त्री अर्थमन्त्रीजी पनि हामीसँग तालमेल गरेको व्यक्ति हुनुभएको छ । त्यसकारण हामी खुशी छौँ’, उनले भने ।

content ad p2

तर नयाँ गठबन्धन बनेपछि एमाले महासचिव शंकर पोखरेलले एक टेलिभिजनमा दिएको अन्तर्वार्ताले आफूहरू झस्किएको लिङ्देनले बताए ।
‘यो गठबन्धनले समानुपातिक समावेशी समाप्त पार्ने जस्तो कुरा गर्नुभयो, त्यो नगरे स्थिरता हुँदैन भन्नुभयो’, उनले भने, ‘काँग्रेस एमाले मात्र भएको देश कस्तो हुन्छ होला ?’
२०६२र६३ को जनआन्दोलनको मुख्य उपलब्धि समानुपातिक समावेशी रहेको भन्दै लिङ्देनले प्रमुख दुई दलले यसलाई समाप्त पार्ने खतरा रहेको बताए । ‘त्यसकारण यो खतराबाट देशलाई जोगाउन राप्रपा प्रतिपक्षी कित्तामा बस्नुपर्ने जरुरी देखियो’, उनले भने, ‘स्थिरता नहुनुमा समावेशी समानुपातिक र साना दल होइन, तपाई ठूला दलको क्रियाकलाप हो ।’

संसदीय अंकगणितले मात्र स्थिरता नदिने भन्दै लिङ्देनले दुई ठूला कम्युनिस्ट पार्टी मिल्दा पनि ५ वर्षसम्म सरकार चल्न नसकेको उदाहरण दिए । उनले भने, ‘समस्या साना दल होइन, तपाईँहरूको चरित्र हो, प्रवृत्ति हो ।’
अहिले काँग्रेस र एमाले सत्ताका लागि मात्र मिलेको भन्दै उनले देशका लागि मिलेको भए माओवादी र राप्रपालाई पनि सँगै आउने वातावरण बनाउनुपर्ने बताए ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर