Lucky-Khabar_

प्रधानमन्त्रीओलीले सदनमा सार्वजनिक गरेको कांग्रेस-एमाले ७ बुँदे सहमतिमा के छ ?

६साउन,काठमाडौं| प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन्। उक्त सहमतिको एउटा बुँदामा सरकारको सुरुवाती दुई वर्ष आफू प्रधानमन्त्री हुने र त्यसपछिको चुनावी सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गरिएको जानकारी सदनलाई ओलीले दिए। उनले सार्वजनिक गरेका दुई दलबीचको सात बुँदे सहमति:-

१. आम जनताको चाहाना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनैतिक स्थिरताको लागि अन्य राजनैतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तरगत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने।
२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने।
३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने। आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने।
४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष माननीय श्री केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने।
५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने।

content ad p2

६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनैतिक दलको नेतृत्वदायी भूमिका र समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनैतिक दललाई समेत सरकारमा समावेश गर्ने।

७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरूप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर