१७ साउन, विराटनगर । प्रहरीले सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विराटनगरबाट मंगलवार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान उद्दार गरेको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको हो ।

सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए । सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीले जनाएको छ ।
बालिकाको ठूलीआमा वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं गएकी छन् । मंगलबार अपहरणपछि बालिकाको मामालाई फोन गरेर सञ्जयले दिदी (बालिकाको ठूलीआमा)लाई फिर्ता बोलाउन भनेका थिए । फिर्ता नबोलाए बालिका अरुलाई नै दिने भन्दै धम्की दिएका थिए ।
बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच प्रेम सम्बन्ध छ । प्रेमिकालाई विदेश जान दिन उनी तयार थिएन र प्रेमिका विदेश जानका लागि काठमाडौं गएपछि सञ्जयले फिर्ता बोलाउन उनको बहिनीको छोरीलाई घरबाटै अपहरण गरेको देखिएको प्रहरीले बताएको छ।
बालिका मंगलबार दिउँसो ३ बजेतिर हराएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय दुहवीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर–१० बाट उद्दार गरेको थियो ।
पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताएको छ ।


