११कार्तिक, वीरगञ्ज।पर्सा जिल्ला अदालतको आदेश अनुसार वीरगञ्जका व्यापारी प्रेमकुमार जाटियालाई दिउँसो २ बजे लिंकरोडस्थित युनिक फर्मास्युटिकल्सको कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ ।

२०७१ सालमा वीरगञ्जको छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुराउने कामबापत ठेकेदार कम्पनी सत्यम सप्लायर्सलाई ५ लाख रुपैयाँ नदिएको विवादमा ठेकेदार कम्पनीले अदालतमा मुद्दा दायर गरेको थियो।


उक्त मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ वैशाख २ गते जाटियालाई ठेकेदार कम्पनीलाई बिगो भराउन आदेश दिएको थियो। तर, बिगो नभरिएपछि अदालतले २०८१ कात्तिक २ गतेको फैसलामा उनलाई छ महिना कैद सजाय तोक्दै बिगो असूल गर्न प्रहरीलाई पत्राचार गरेको थियो।
त्यस्तै जाटियाको रियल स्टिल, मैग्नस फर्मास्युटिकल्स, श्रीराम कोलोनी, युनिक फर्मास्युटिकल्सलगायत विभिन्न औद्योगिक प्रतिष्ठानमा लगानी रहेको बताइएको छ।
प्रहरी नायब उपरीक्षक दीपक भारतीले जाटियाको पक्राउ पुष्टि गर्दै कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।


