२८ कार्तिक, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले आज १४ हजार छात्राहरुलाई सशक्तीकरणका लागि आत्मरक्षा तालिम दिइएको छ । तालिमको उदघाटन गर्दै प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले मधेस प्रदेशको एकमात्र महानगर वीरगन्जले किशोरीहरुको आत्मरक्षाका लागि तालिम दिएर विश्व रेकर्ड कायम गर्ने प्रयास सराहानीय भएको बताउदै गिनिजबुकको डायरीमा दर्ता हुने विश्वास व्यक्त गरे ।

किशोरीहरूको सशक्तीकरणका लागि सरकार प्रतिबद्ध रहेको जनाउदै मन्त्री यादवले आत्मरक्षा तालिमले किशोरीहरुलाई शारीरिक र मानसिक रूपले बलियो बनाउने र हिंसा रोक्न पनि मद्दत पुरयाउने उनले बताए ।

उनले वीरगन्ज महानगरपालिकाले गरेको शुरुवात देशैभरी विस्तार गर्नुपर्नेमा जोड दिए । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले हिजो १ बजेसम्म १५ हजार १०० फाराम प्राप्त भएकोमा १२ हजार ९ सय ७४ फाराम गिनिजबुकमा दर्ता गर्न पठाईसकिएको जानकारी गराए । तालिमले महिलाहरुको आत्मबल बढाउनुका साथै आत्मरक्षाका लागि पनि सक्षम हुने दावी गरे ।
आफूले निर्वाचनका बेलामा पनि वीरगन्जका महिलाहरुलाई मध्यरातमा पनि निर्धक्कसँग हिड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता अनुसार महिला र किशोरीहरुको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम शुरुवात गरेको बताए । उनले भने, ‘वीरगञ्जका कोहीपनि छोरीचेली डराएर हिड्नु पर्ने अवस्थाको अन्त्य हुन्छ । मान्छे त के मृत्यु पनि मे आई कम इन ? भनेर सोधेर आउनुपर्ने अवस्था बनाउनुछ ।’
तालिमले समाजमा हुने विभिन्न खाले महिला हिंसा तथा दूव्र्यवहारका घटना रोक्नलाई पनि सहयोगी हुने विश्वास व्यक्त गरे । महानगरपालिकाका उप्रमुख इम्तियाज आलमले महिला दिदीबहिनीहरुले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाएको धन्यवाद दिदै तालिममा धेरै कुरा सिक्ने र आफ्नो सुरक्षा आफैले गर्न सक्ने क्षमता प्राप्त गर्ने उपायको जान्ने बताए ।
तालिमका मुख्य प्रशिक्षक डाक्टर यजनेश चित्ता सेट्टी अर्थात मास्टर चित्ताले महिला तथा किशोरीहरुलाई दिईने यो प्रशिक्षण भगवानलाई पूजा गरेको भन्दा धेरै आशिर्वाद पाए जस्तो हुने बताए । आत्मरक्षा गर्ने कलाले एउटा शक्तिशाली उर्जा प्राप्त हुने र यसले आम्तरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले वीरगन्जमा महानगरपालिकाले गरेको सरसफाइको समेत प्रशंसा गरे ।
महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीना जसवाल, प्रदेश सांसद वीणा शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्वागत गरेका थिए ।


