१६चैत, काठमाडौँ | तीनकुनेमा भएको राजावादी प्रदर्शनमा भएका हिंसात्मक गतिविधिका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनेका छन् ।

एक जना पुरुषले पेस्तोल निकालेको र अन्य व्यक्तिहरूले पुरुषहरूले लाठी बोकेको भिडिओ भाइरल बनेको छ । पेस्तोल निकालेका व्यक्तिहरू को हुन् र प्रहरीले पक्राउ गर्यो कि गरेन भन्ने चासो सर्वत्र छ ।
यद्यपि उनीहरू प्रदर्शनकारी नभई प्रहरी नै भएको खुलेको छ । उनीहरू कोटेश्वरमै रहेको लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारी रहेको खुलेको हो ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नारायण अधिकारीका अनुसार शुक्रवार दिउँसो प्रहरीको टोली अपरेसनबाट फर्किँदै थियो । त्यही बेला प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीहरू कोटेश्वरका भित्री गल्लीमा पसेको थियो ।
एसपी अधिकारीका अनुसार भित्र पसेका प्रदर्शनकारीले गाडी रोकेका थिए । ‘टोली अपरेसनबाट फर्किएको थियो । अफिस फर्कँदै गर्दा प्रदर्शनकारीहरूले रोके। हाम्रो ब्युरोका अधिकारीहरू सिभिलमा खटिन्छन्,’ उनले भने ।
प्रहरीहरूले प्रदर्शनकारीहरूलाई रोक्न खोजेका थिए, तर रोकिएनन् । केही बेरमै प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी समेत गरेका थिए ।
‘आफ्नो सुरक्षाका लागि भनेर पेस्तोल निकालेका हुन् । पेस्तोल निकालेका प्रहरी अधिकारीले फायर भने खोलेका थिएनन्,’ उनले भने । राजावादीको प्रदर्शनमा थुप्रै सवारीसाधनहरूमा आगजनी भएका थिए ।
उनीहरूले बालकुमारीमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार, जडीबुटी औषधी प्रशोधन केन्द्रका आठ वटा गाडीहरू जलाएका थिए । प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न १०५ जना भन्दा बढीलाई पक्राउ गरिसकेको छ ।



