१९ चैत,वीरगञ्ज । डेढ वर्षपछि पुनः वीरगञ्जको बालसुधार गृहमा तनावको स्थिति सिर्जना भएको छ। बाल कैदीबन्दीहरूले सुधार गृहमा खाना र बासका समस्याबारे असन्तोष जनाउँदै मंगलबार होहल्ला गर्दै तोडफोड सुरु गरेपछि स्थिति तनावपूर्ण बनेको हो।

घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो र स्थिति नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।

बालसुधार गृहमा हाल १२७ जना बाल कैदीबन्दीहरू रहेका छन्, जसमा विभिन्न कसूरका अभियुक्तहरू सामेल छन्। असन्तुष्ट बाल कैदीबन्दीहरूसँग छलफल गर्न पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक मिश्र, प्रहरी नायब उपरीक्षक किशोर लम्साल र अन्य अधिकारीहरू सक्रिय रहेका छन्।
प्रमुख जिल्ला अधिकारी अर्यालले बाल कैदीबन्दीहरूको समस्याहरू र असन्तुष्टिहरूको समाधान गर्ने प्रतिबद्धता जनाउँदै सम्झाइ बुझाइ गरेपछि स्थिति शान्त भएको जनाइएको छ।

हामी बाल कैदीबन्दीहरूसँग छलफल गर्दै उनीहरूको समस्याहरू र असन्तुष्टिका बारेमा गहिरो अध्ययन गरिरहेका छौं। यसबाट समाधान निकाल्न हामी तत्पर छौं।प्रहरी उपरीक्षक मिश्रले भने|
त्यस्तै यसअघि, २०८० भदौं २६ गते पनि बालसुधार गृहमा बाल कैदीबन्दीहरू बीच आपसी झडप भएको थियो जसमा ११ बाल कैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए।


