२१चैत,बिरगंज| ५० वर्षीय महिलाको रौतहटमा शव गाडेको फेला परेको छ ।

रौतहटको वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थित जंगलमा महिलाको शव फेला परेको रौतहट प्रहरीले पुष्टि गरेको छ । नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला परेको गरुडा प्रहरी प्रमुख राजन कार्कीले बताए ।

फेला परेको शव वृन्दावन नगरपालिकाको वडा नम्बर–१ की फूलमतिया देवीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी गएको १४ गते आफ्नो घरबाट बेपत्ता भएकी थिइन् । बेपत्ताको आठौँ दिनपछि आज उनको शव फेला परेको हो ।
प्रहरीमा उजुरी आएपछि तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा गाडेको अवस्थामा फेला परेको गरुडा प्रहरीका डीएसपी कार्कीले बताए । फेला परेको शव हत्या गरिएको हुन सक्ने विश्लेषण गर्दै प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताए ।
हत्यामा संलग्न रहेको आरोपमा अहिलेसम्म २ जनालाई पक्राउसमेत गरिसकेको उनले जानकारी दिए ।
हत्या कसले र किन गरेको हो ? त्यसबारे विस्तृत अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले जनाएको छ ।


