२६ चैत,काठमाडौं । गत चैत १५ गते कोटेश्वर जडीबुटी क्षेत्रमा आगो राजवादीले लगाएको नभइ माओवादीले आगो लगाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताएका छन्।

बल्खुमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै शाहीले त्यसदिन राजावादीबीचमा घुसपैठ गरेर आगजनी गरिएको बताएका हुन्। ‘जडीबुटी कम्पनीमा आगो लगाउने माओवादी कार्यकर्ता रहेको पुष्टि भइसकेको छ। राजाबादीले आगो लगाएका होइनन्,’ उनले भने।

अहिलेका गणतान्त्रिक दलहरू एकपछि अर्को काण्डमा पर्दै गएको उनको आरोप छ। ‘काण्डमा पर्दै गएकाहरू एक दिन जेल जाने छन्। प्रदर्शन गरेकै आधारमा हाम्रा नेतालाई थुनिएको छ। हामी यो व्यवस्था पल्टाएर छाड्ने छौं,’ उनले भने।

यो देश राजसंस्था र जनताले आर्जिएकाले गणतन्त्रबादीले धेरै फुर्ति लगाउन नहुने उनले चेतावनी दिएका छन्।


