गौर, रौतहट । गौर नगरपालिका–४ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार बिहान आफ्नो घर नजिकै विद्युतीय तार मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको स्थानीयहरूले बताएका छन्।

गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि गौर अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।

६२ वर्षीय यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा गौर नगरपालिका–४ बाट वडाअध्यक्ष निर्वाचित भएका थिए। स्थानीय समाजसेवीका रूपमा परिचित यादवको निधनले समुदायमा शोक छाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


