राम आर्य
रौतहट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको ६३ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि बिरामी थिए र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो।

आलमलाई उच्च रक्तचाप र सुगरका समस्या थिए। दसैंअघि स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो। पछिल्ला दिनमा अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो। उनका छोरा डा. राजिक आलमका अनुसार डेढ महिना अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार गरिएको थियो।

आलमले लामो राजनीतिक यात्रा तय गरेका थिए। उनले २०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए र २०५१ सालमा पहिलो पटक सांसद निर्वाचित भएका थिए। उनले विभिन्न सरकारमा श्रम, वन, स्थानीय विकास र भूमिसुधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनअघि रौतहटमा भएको बम विस्फोट र हत्या प्रकरणमा उनीमाथि मुद्दा चलेको थियो। जिल्ला अदालतले जन्मकैदको फैसला गरे पनि २०८१ जेठमा उच्च अदालत जनकपुरले उनलाई सफाइ दिएको थियो।
झण्डै ६ वर्ष जेल जीवन बिताएका आलम नख्खु कारागारबाट छुटेपछि केही दिनमै मस्तिष्कघात भएका थिए। पछिल्ला महिनामा स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको थियो।

उनका दुई छोरा र एक छोरी छन्। जेठो छोरा डा. फिरदोस आलम र कान्छो छोरा डा. राजिक आलम राजपुर नगरपालिकाका नगरप्रमुख हुन्।
आलमको निधनले नेपाली कांग्रेस र रौतहट क्षेत्रका समर्थकबीच गहिरो शोक छाएको छ।


