रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा नक्कली जनचेतनामूलक डकुमेन्ट्री निर्माण गरेको ठहर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ‘जनचेतना अभिवृद्धि’ गर्ने उद्देश्य भन्दै डकुमेन्ट्री निर्माणका नाममा कुनै काम नभएकाे वा नक्कली कागजात तयार गरी सरकारी रकम हिनामिना गरिएको पाइएको छ। सोही आधारमा मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।

अनुसन्धानमा नगरपालिकाले वार्षिक कार्यक्रम तथा बजेटबाहिर गएर बदनियतपूर्ण रूपमा ‘सरिता फाउन्डेसन’लाई निर्माण जिम्मा दिएको, सम्झौता विपरीत नगरप्रमुखको मात्र प्रशंसा गरिएको भिडियो तयार गरिएको र सो सामग्री कुनै माध्यममा प्रसारणसमेत नभएको खुलासा भएको छ। यसै बहानामा ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ भुक्तानी गरिएको पनि आयोगले पुष्टि गरेको छ।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, लेखापाल विवेक कुमार सहनी, सहायकस्तरका कर्मचारी राम नरेश प्रसाद यादव, उमेश कुमार दास तत्मा, खरिदार कौशल किशोर चौधरी, छोटेलाल मिश्र र सरिता फाउन्डेसनकी निर्देशक सरिता कुमारी साह रहेका छन्।
आयोगले उनीहरूविरुद्ध ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ बिगो तोकी त्यही रकम बराबरको जरिवाना तथा कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ।


