काठमाडौं । मधेश प्रदेशमा गठन भएको नयाँ सरकारले अघिल्लो एमाले नेतृत्वको मन्त्रिपरिषद्ले कात्तिक २३ देखि मंसिर १७ गतेसम्म गरेका सबै निर्णय खारेज गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मन्त्रीपरिषद् बैठकले सो अवधिभित्र तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवको सरकारले सञ्चालन गरेका सबै निर्णय अमान्य ठहर गर्ने निष्कर्ष निकालेको हो।
संविधानको धारा १६८(३) अनुसार ठूलो दलका आधारमा कात्तिक २३ गते नियुक्त भएका सरोज कुमार यादवले सर्वोच्चको परमादेशपछि पनि मंसिर १७ गते राजीनामा दिने बेलासम्म विभिन्न नियुक्ति, सरुवा लगायतका महत्वपूर्ण निर्णय लिएका थिए। नयाँ सरकारको निर्णयपछि ती सम्पूर्ण निर्णयहरू प्रभावहीन बनेका छन्।


