काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनहरूमा देखिएको राजनीतिक ध्रुवीकरण र नयाँ दलहरूबीचको सहकार्यप्रति तीखो व्यङ्ग्य गरेका छन्।

मदन–आश्रित स्मृति प्रतिष्ठानले राजधानीमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरका मेयर बालेन शाहबीच देखिएको सहकार्यलाई ‘दुब्लाहरूको मोर्चाबन्दी’को संज्ञा दिए। यस्ता समूहहरू मिलेर पनि ठूला राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न नसक्ने उनको दाबी थियो।

ओलीले बाख्रा, कुखुरा र स्याल मिलेर मोर्चा बनाए पनि त्यसले कुनै ठोस परिणाम नदिने टिप्पणी गर्दै एमाले र कांग्रेसजस्ता स्थापित दलहरूसँग नयाँ समूहको तुलना असम्भव भएको बताए। ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ?’ भन्दै उनले व्यङ्ग्यात्मक शैलीमा आफ्नो धारणा राखे।
अध्यक्ष ओलीले हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनलाई समयसापेक्ष र अर्थपूर्ण भएको उल्लेख गरे। महाधिवेशनबाट पार्टीसँग जनताबाट अनुमोदित, सक्षम र संगठित नेतृत्व टोली रहेको सन्देश गएको उनको भनाइ थियो। 
कृत्रिम रूपमा लोकप्रियता र अलोकप्रियताको कथा बनाएर एमालेलाई कमजोर देखाउने प्रयास भए पनि महाधिवेशनले त्यसको स्पष्ट जवाफ दिएको ओलीले बताए। निर्वाचनअघि नै प्रधानमन्त्रीको दाबी गर्ने प्रवृत्तिप्रति संकेत गर्दै उनले को वास्तवमै लोकप्रिय छ भन्ने अन्तिम निर्णय जनताले आगामी निर्वाचनमार्फत गर्ने चुनौतीसमेत दिए।
महाधिवेशनपछि एमाले निर्वाचनका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको सन्देश गएको भन्दै उनले अबको राष्ट्रिय फैसला चुनावबाटै हुनेमा जोड दिए।


