Lucky-Khabar_

गोरखा–२ मा एमालेको उम्मेदवार सिफारिसमा चक्रे मिलन, विवाद चर्किँदै

काठमाडौं । नेपाली राजनीतिमा अपराध र सत्ताबीचको सम्बन्ध समय–समयमा बहसको विषय बन्दै आएको छ । यस्तै बहसलाई फेरि सतहमा ल्याउने गरी गोरखा जिल्लामा नयाँ दृश्य देखिएको छ ।

नेकपा एमालेले पटक–पटक जेल परेका र प्रहरीको आपराधिक रेकर्डमा १२ भन्दा बढी मुद्दा खेपेका मिलन गुरुङ, उर्फ चक्रे मिलनलाई प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ । यो सिफारिससँगै एमालेमाथि ‘बाहुबली’ प्रवृत्तिलाई राजनीतिक मूलधारमा उकास्ने आरोप पुनः उठ्न थालेको छ ।

content ad p2

२०५० सालदेखि नै आफू एमालेमा आबद्ध रहेको दाबी गर्ने चक्रे मिलनको पहिचान राजनीतिज्ञभन्दा बढी ‘गुण्डा नाइके’का रूपमा स्थापित छ । महाराजगञ्ज र चक्रपथ क्षेत्रलाई प्रभाव क्षेत्र बनाएर ठेक्कापट्टा, बालुवा खानी र कमिसनको कारोबारबाट उदाएका उनी आफ्नो शरीरमा सूर्यको ट्याटु खोपेका कारण पनि चिनिन्छन् । कुनै समय एमाले नेता प्रदीप नेपालको निकट रहेका उनी दरबारसँग समेत नजिक रहेको चर्चा हुँदै आएको छ ।

पछिल्लो पटक गत साउनमा महाराजगञ्जस्थित एक होटलबाट पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योगलगायत गम्भीर मुद्दा लागेको थियो । तर, उनी पटक–पटक धरौटीमा छुट्दै आएका छन् ।

आफ्नो उम्मेदवारी सिफारिसलाई चक्रे मिलनले युवा तथा ‘जेन–जी’ पुस्ताको दबाबको परिणाम बताउँदै लोकतान्त्रिक भाष्य दिन खोजेका छन् । उनी आफूलाई अपराधी नभई साधारण नागरिक र समाजसेवीका रूपमा प्रस्तुत गर्छन् । यता, स्थानीय एमाले नेताहरूले उनलाई स्वीकार्य व्यक्तित्व बताइरहँदा आम नागरिकमा भने त्रास र आशंका देखिएको छ । चरी र घैँटेजस्ता समकालीन पात्रहरूको इन्काउन्टरपछि केही समय ओझेलमा परेका चक्रे मिलनको सक्रियता चुनाव नजिकिँदै गर्दा फेरि बढेको देखिन्छ ।

गोरखा–२ क्षेत्र ऐतिहासिक रूपमा ठूला कम्युनिस्ट नेताहरूले प्रतिनिधित्व गर्दै आएको संवेदनशील निर्वाचन क्षेत्र हो । यस्तो क्षेत्रमा एमालेले विवादित पृष्ठभूमि भएका व्यक्तिलाई अघि सार्नुले पार्टीको छविमाथि नै प्रश्न उठाएको छ । टिकटको अन्तिम निर्णय केन्द्रले गर्न बाँकी रहे पनि, एक ‘गुण्डा नाइके’को नाम संसदको उम्मेदवारका रूपमा सिफारिस हुनु आफैँमा चासो र विवादको विषय बनेको छ ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर