वीरगञ्ज |हिन्दू पत्रकार संघ नेपालको घोषणा पश्चात् पहिलो केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ।

वीरगञ्जको माईस्थानस्थित अतिथि सदनको सभाहलमा केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले संगठनको संरचनालाई प्रदेश र जिल्लास्तरसम्म विस्तार गर्ने रणनीतिक निर्णय गरेको हो।बैठकमा केन्द्रीय कोषाध्यक्षका रूपमा आनन्द पटेललाई विधिवत् रूपमा खाँदा–ओढाई पदभार ग्रहण गराइएको छ। संगठनको आर्थिक व्यवस्थापन तथा संस्थागत मजबुतीकरणमा कोषाध्यक्ष पटेलको अनुभवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैठकले व्यक्त गरेको छ।
बैठकले हिन्दू पत्रकार संघ नेपालको मधेश प्रदेश संयोजक तोक्ने निर्णय गर्नुका साथै मधेश प्रदेशका आठवटै जिल्लामा तत्काल संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ। संगठनका आगामी कार्यक्रम तथा गतिविधिहरूलाई चरणबद्ध रूपमा अगाडि बढाइने केन्द्रका सचिव राजकुमार सर्राफले जानकारी दिनुभयो।
त्यसैगरी बैठकले पत्रकारहरूको हक–हितको रक्षा, पेशागत मर्यादा कायम राख्ने तथा धार्मिक–सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा केन्द्रित रहने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
बैठकमा केन्द्रीय उपाध्यक्ष विनोद पटेल, कोषाध्यक्ष आनन्द पटेल तथा सदस्यहरू सञ्जय कुशवाहा, राकेश कुमार साह, अर्जुन चौधरी, राजु बैठा, रवि बर्नवाल र सन्तोष कुशवाहाको उपस्थिति रहेको थियो। साथै केन्द्रका सल्लाहकारहरू एस.के. चौरसिया, रितेश झा र आरोहण साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।


