वीरगञ्ज। नेपाली कम्युनिष्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न भएको छ। उक्त भेला पार्टीका केन्द्रीय सदस्य बाबुराम कौशिकको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा पर्सा क्षेत्र नं. १ का उम्मेदवार सीए अजय चौरसियाले आफू लामो समयदेखि शोषित, पीडित तथा मधेसका उत्पीडित वर्गको हकहितका लागि संघर्ष गर्दै आएको बताए। उनले निर्वाचनका क्रममा देखिने विभिन्न किसिमका प्रलोभनबाट प्रभावित नहुन आग्रह गर्दै सही र योग्य व्यक्तिको छनोट गर्नुपर्ने आवश्यकता औंल्याए।
शिक्षित युवा उम्मेदवारका रूपमा उच्च मनोबलका साथ जनतामाझ जाने प्रतिबद्धता व्यक्त गर्दै चौरसियाले जनताको हकअधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने बताए।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपाली कम्युनिष्ट पार्टीले विगतदेखि गर्दै आएको संघर्ष र योगदानलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउने समय आएको बताएका थिए। उनीहरूले पर्सा क्षेत्र नं. १ मा पार्टी संगठनलाई थप मजबुत बनाउन तथा निर्वाचनमा जनताको विश्वास जित्न एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।
भेलामा बालगोपाल थापा, रामबाबु बैठा, रामदरश कुश्वाहा, मुस्कान खातुन लगायतका नेताहरूले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन प्रमु यादवले गरेका थिए।


